प्रचण्डको शरणमा बाबुरामः लेखनाथ न्यौपानेको उम्मेदवारी फिर्ता लिएर आफूलाई सघाउन अनुरोध


काठमाडौं, ९ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका डा.बाबुराम भट्टराई र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । भेटमा पूर्व प्रधानमन्त्री डा.भट्टराईले नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको उम्मेदवारी फिर्ता लिएर आफूलाई सघाउन आग्रह गरेको स्रोतले बतायो ।

‘लेखनाथको उम्मेदवारी फिर्ता लिएर मलाई सघाउनुपर्यो’ भनेर बाबुरामले प्रचण्डलाई भनेको स्रोतको दाबी छ । प्रचण्डले यस विषयमा अहिले कुनै प्रतिक्रिया दिइनसकेको पनि बताइएको छ । आज (शुक्रबार) विहान दुई पूर्व प्रधानमन्त्रीबीच भेट भएको थियो ।

गत २०७९ को आम निर्वाचनमा सो क्षेत्रबाट प्रचण्ड विजयी भएका थिए । त्यसबेला बाबुरामले प्रचण्डलाई सघाउँदै आफू उम्मेदवार बनेका थिएनन् । आफूले २०७९ को निर्वाचनमा सघाएको स्मरण गराउँदै बाबुरामले प्रचण्डसँग जसरी भए पनि यो चुनावमा जिताउनका लागि भरमग्दुर सहयोग गरिदिन आग्रह गरेको स्रोतले बतायो ।

उत्ता, नेकपा गोरखा २ का उम्मेदवार न्यौपाने भने आफू अब धेरै अगाडि बढिसकेकाले कसैले भनेर उम्मेदवारी फिर्ता लिने पक्षमा नरहेको बताउँछन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै न्यौपाने आफूले बाबुरामलाई चुनावभन्दा अगाडि ‘तपाईँ उठ्ने हो भने म उठ्दिनँ’ भनेको बताउँछन् । जवाफमा बाबुरामले ‘म उठ्दिनँ’ भनेपछि आफूले चुनावी अभियान थालेको नेता न्यौपानेले सुनाए ।