काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । आज (शुक्रबार) बसेको केन्द्रीय समिति बैठकमा उपसभापति शर्माले सभापति थापालाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जानका लागि प्रस्ताव गरेका हुन् ।
‘केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गर्दछु,’– बैठकमा उपसभापति शर्माले भने ।
सामान्यतया निर्वाचनपछि मात्रै प्रधानमन्त्री पदका लागि व्यक्ति अघिसार्ने प्रचलन रहि आएकोमा कांग्रेसले चुनाव अभियान क्रममै आफ्नो उम्मेदवार प्रस्तुतगर्ने तयारी गर्नुको अर्थ मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने जमर्को रहेको पनि उपसभापति शर्माले बताएका छन् ।
उपसभापति शर्माले पृष्ठभुमि, संस्कार, योगदान, योग्यता र भिजनमा तुलनात्मक अध्ययन र विश्लेषण गर्न मतदातालाई सहज हुने भएकाले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारिएको पनि बताएका छन् ।
साथै, सभापति थापासँग परिवर्तित समयलाई सम्बोधन गर्ने क्षमता रहेको पनि उपसभापति शर्माको दाबी छ । देशको प्रधानमन्त्री बन्ने व्यक्तित्वले आवेगलाई होइन, संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने बताउँदै उपसभापति शर्माले त्यो सामर्थ्य सभापति थापासँग रहेको दाबी गरेका छन् ।




प्रतिक्रिया