हनोई, ९ माघ । भियतनामका नेता टो लाम शुक्रबार आफ्नो सत्तारूढ कम्युनिस्ट पार्टीको महासचिवका रूपमा पुनः निर्वाचित भएका छन् । यो निर्णय राष्ट्रिय पार्टी काङ्ग्रेसको समापनमा भएको हो, जसमा देशको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक तथा आर्थिक दिशानिर्देश तय गरिएको थियो ।
उनी यसै सन्दर्भमा राष्ट्रपति हुनेछन् कि भन्ने विषयमा कुनै घोषणा गरिएको छैन । यदि लामले दुवै पद सम्हाले भने उनी चिनियाँ नेता सी जिनपिङजस्तै दशकौँसम्म देशका सबैभन्दा शक्तिशाली नेता बन्न सक्नेछन् ।
काङ्ग्रेसले सन् २०२६ देखि २०३० सम्म वार्षिक १० प्रतिशत वा सोभन्दा बढी कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिको लक्ष्य राखेको छ । लगभग एक हजार ६०० प्रतिनिधिले सन् २०३१ सम्म भियतनामको राजनीतिक र आर्थिक दिशा निर्धारण गर्ने पोलिटब्युरोका १९ सदस्य निर्वाचित गरेका छन् ।
भियतनामले विश्वव्यापी उत्पादन केन्द्रको रूपमा इलेक्ट्रोनिक्स, कपडा र जुत्तामा उल्लेखनीय प्रगति गरेको छ । गरिबी घटेको छ र मध्यम वर्ग तीव्र गतिमा बढिरहेको छ । तर बुढेसकालको जनसङ्ख्या, जलवायु जोखिम, कमजोर संस्थाहरू र व्यापार अधिशेषसँग सन्तुलन कायम गर्नु चुनौतीपूर्ण छ । साथै, दक्षिण चीन सागरमा चीनसँग ओभरल्यापिङ क्षेत्रीय दावीको सामना गर्नुपरेको छ ।
टो लामले सन् १९८० को दशकको उत्तरार्धदेखि देशको आर्थिक सुधार र सार्वजनिक क्षेत्रको प्रशासनिक सुधारको नेतृत्व गरेका छन् । उनले सन् २०१६ अघि सार्वजनिक सुरक्षा मन्त्रालयमा लामो समय काम गरेका थिए र भ्रष्टाचार विरोधी अभियानको नेतृत्वसमेत गरेका थिए । उनको नेतृत्वमा पोलिटब्युरोले भ्रष्टाचार विरोधी अभियानमा १८ सदस्यमध्ये छ जनालाई गुमाएको थियो, जसमा दुई पूर्वराष्ट्रपति र संसदीय प्रमुख पनि थिए । रासस




प्रतिक्रिया