ध्यान साधनाबाट प्राप्त हुन्छ बोध


-नेत्र सुवेदी ‘प्रयास’

काठमाडौँ, ११ माघ । योगासन, प्राणायम र ध्यान एकपछि अर्को गरी अभ्यास गरिन्छ । योग र प्राणायम ध्यानका लागि पूर्वतयारी हुन् । वास्तवमा ध्यान लागेपछि शरीर हलुका महशुस हुन्छ भने मनमा शान्ति छाउँछ । सही अर्थमा ध्यानबाट आनन्दको अनुभूति हुन्छ । जुनसुकै काममा पनि ध्यानस्थ हुने क्षमता विकास हुन्छ । भनिएको छ कि ध्यान आफ्नो लक्ष्यप्राप्तिको हुनुपर्दछ । आफूतिर नफर्की ध्यान हुँदैन । खोजेको आनन्द सम्बन्ध, सम्पत्ति, शान्ति, बुद्धि केमा हो सोहीअनुसार ध्यान लगाउनुपर्दछ ।

ध्यानको अभ्यासमा हामीहरु बाहिरी जगतभन्दा पनि भित्री आकाशमा मन लगाउँछौँ । हामीभित्रको आकाश सच्चिनान्द स्वरुपमा छ । त्यसैले भनिएको होला निराकार मात्र पूर्ण छ । आकाशको सीमा नभएजस्तै निराकार पनि विस्तृत छ, पूर्ण छ । उपनिषद्मा उल्लेख भएको ‘ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।’ ले इंगित गरेको पूर्णता अक्षुण छ अर्थात् आकाशबाट आकाश घटाउँदा शेष पनि आकाश नै रहन्छ । यही पूर्णता प्राप्तितर्फको अभ्यास हो ध्यान । ध्यानका लागि कुनै आसनमा बसेर आँखा चिम्लनु पर्दछ भन्ने छैन । जुन काममा संलग्न छौँ त्यसैमा ध्यान लगाउनु पनि ध्यान नै हो ।

विभिन्न आध्यात्मिक मार्गहरुले जीवन जिउनुको उद्देश्यलाई आफ्नै ढङ्गले व्याख्या गरेको पाइन्छ । जस्तो कि भगवान् शिवको भाषामा कैविल्य, महर्षि पतञ्जलीको भाषामा निर्विकल्प समाधी र बुद्धको भाषामा निर्वाण प्राप्ति । मानव जीवनको उद्देश्य भनेको दुःखबाट मुक्ति र परमानन्द प्राप्ति नै हो । जीवनको यही उद्देश्य प्राप्तिका लागि ऊर्जा आवश्यक पर्दछ र सो ऊर्जाको सिर्जना र उपयोगका लागि पनि ध्यान आवश्यक पर्दछ । त्यसो त समृद्धिको पूर्वाधार भनेको पनि जीवन ऊर्जा हो ।

शरीरमा ऊर्जाको कमी भयो भने समृद्धि प्राप्तिको विषय खोक्रो सावित हुन्छ । ध्यान गरे पनि धन आर्जन गरे पनि आधारभूत विषय भनेको ऊर्जा हो । ऊर्जामा मूलतः तीन वटा पक्ष सँगसँगै रहन्छन् । पहिलो हो– शारीरिक शक्ति, जुन हामीमा कायम गर्दै मजबुत हुनुपर्ने हुन्छ ।

दोस्रो हो–मानसिक शक्ति जुन शक्ति विचार, इच्छाशक्ति र सन्तुलनका लागि आवश्यक छ । तेस्रो हो–भाव शक्ति जसबाट केही प्राप्ति भएको अनुभूति हुन्छ । यी तीनवटै शक्तिको जग भनेको चेतना शक्ति हो । हामीले बोलीचालीको भाषामा यसलाई ‘होस’ पनि भन्दछौँ । चेतना जागृत गर्ने र प्रयोग गर्ने कला नै ध्यान हो ।

ध्यान गर्ने प्रक्रिया र पूर्वःशर्त

धेरैले आफ्नो काममा एकाग्रता भएन भन्छन् । एकाग्रता भनेको एउटा विषयमा ध्यान लगाउनु हो । एकाग्रता हुनु कुनै कामका लागि अनिवार्य त छ तर पर्याप्त भने नहुन सक्छ । चेतना वा सजगता भने एकाग्रताभन्दा पनि उच्चस्तरको शक्ति हो । ध्यान सम्बन्धमा रचित गीतको लाइन ‘साक्षीपूर्ण चेतनाले जाने जति ज्ञान भयो, प्रेमपूर्ण भावनाले छानेजति ध्यान भयो’बाट ध्यानका लागि चेतना र प्रेम सँगसँगै चाहिन्छ भन्ने बुझ्न सकिन्छ ।

ध्यानलाई आनन्द प्राप्तको माध्यम वा बाटो मान्ने हो भने बोध भनेको आनन्द प्राप्तिको अवस्था वा गन्तव्य हो । बोध भनेको वास्तविक योग तथा ध्यान अभ्यास मात्र नभई त्यो भन्दा पनि गहिरो विषय रहेछ । “आफूप्रति सजग भई ध्यान गर्दैछु म, ध्यानप्रति सजग भई बोध गर्दैछु म” भन्ने जीवन विज्ञानसम्बन्धी गीतको लाइनबाट पनि बोध भनेको ध्यान गहिरिदै जाँदा पुगिने चरण र नतिजा रहेछ भन्ने बुझिन्छ ।

ध्यानका लागि आसनमा बस्दा पवित्रता, अभयता र सजगता यी तीन विषय ख्याल गर्नुपर्दछ । ध्यानका बखत आँखा खोल्दा अरुलाई देखिन्छ भने आँखा बन्द गरेपछि आफैँलाई देखिन्छ । ध्यान भनेकै भित्रबाट परिवर्तन गर्ने विधि हो । यसका माध्यमबाट जीवनमा सकारात्मकता, स्वस्थता र आनन्द प्राप्ति सम्भव हुन्छ । भनिन्छ कि सुखदुःखका कारण हामी आफैँ हो र ध्यान आफूतिर फर्काएर नयाँ दृष्टिकोणका साथ सरल समाधान खोज्ने विधि हो । त्यसै भनिएको हैन ‘मनको ढोका खोलेर भित्र जाउँ, हृदयमा भेटिन्छ शान्त ठाउँ’ भनेर । जसरी खाना खाँदा अघाइन्छ र सन्तुष्टि प्राप्त हुन्छ, त्यसैगरी ध्यानबाट आनन्द प्राप्ति हुन्छ । तर पवित्रता, अभयता र सजगताको त्रिवेणीमा निष्ठा र धैर्यतापूर्वक साधना गर्न जरुरी हुन्छ ।

मभित्र के भइरहेको छ थाहा पाउन सुरु गर्नु ध्यानको पूर्वशर्त हो । ध्यानको ऊर्जाले नै ज्ञानको ऊर्जा सिर्जना गर्दछ । जे गर्न नी चेतना चाहिने र चेतनाको सहज प्राप्तिको बाटो नै ध्यान । चार अक्षरको शब्द सजगता ध्यानको पहिलो चरण हो यसले मनमा जे चलिरहेको छ थाहा पाउन मद्दत गर्दछ । सजगताका तीनगुण अहिले, अप्रतिक्रियात्मक र अध्ययन हुन् । सजगताका पाँच तह छन् । पहिलो सजगता श्वाशप्रति, दोस्रो शरीरप्रति, तेस्रो आत्मगुफाप्रति, चौथो गुरुप्रति र पाँचौँ सजगता ईश्वरप्रति हुनुपर्दछ । हामी ध्यान गर्दा आफैँले अनुभूत गर्दछौँ, जबकि पुस्तक पढ्दा भने अरुको विचार पढिन्छ । ध्यानले जागेको ऊर्जालाई स्थिर बनाउँछ ।

जीवनमा सजगता टिकाउनका लागि पवित्रता आवश्यक पर्दछ । यसका लागि दिव्य नवब्रतको पालना आवश्यक पर्दछ । यदि यी नवब्रतमध्ये कुनै वा सबै कमजोर भयो भने सजगता तुहिन्छ वा चुहिन्छ । नौवटा गुणहरु रहेको दिव्य नवब्रत सङ्कल्प साथसाथै पालनाको विषय पनि हो । ती गुणहरु भनेका सत्यता, स्वाध्याय, निहङ्गकारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवाभाव, मधुरवाणी, लक्ष्यसँग एकाकार र मुमुक्षा हुन् ।

ध्यानबाट बोधतिर

बोधप्राप्तिका लागि ध्यान गरिरहँदा सजगताप्रति भन्दा मुख्य दुईपक्ष हुन सक्छन्–म कि अरु । अरुप्रतिको सजगतामा प्रेम जरुरी छ जहाँ भय रहँदैन । आफूप्रतिको सजगताका लागि स्वाध्याय आवश्यक पर्दछ जसको सरल अर्थ भनेकै आफ्नो अध्ययन हुन्छ । त्यस्तै आफूप्रतिको सजगता बढ्दै गयो भने ध्यान बोध बन्दछ ।

आफ्नो अध्ययन कसरी भन्ने प्रश्न उठ्न सक्छ । यसका दुई तरिका छन् । मेरो मन विचार कस्तो छ, राम्रा नराम्रा कस्ता कुरा खेल्छन् ? बानीव्यहोरा के छन् ? यो पहिले त आफैँले बुझ्न जरुरी छ । दोस्रो पक्ष भनेको अरुप्रति गरिने व्यवहार हो । आफूलाई जुनसुकै व्यवहार गर्ने किन नहोस् अरुप्रति व्यवहार गर्दा प्रतिक्रिया व्यक्त नगरेर त्यस्तो व्यवहार किन ग¥यो भन्ने पत्ता लगाउनु पनि स्वाध्याय हो । के बुझ्न जरुरी छ भने हामीलाई दुःखले जति सताएको छ, त्योभन्दा बढी सुखले पनि सताएको छ । सुख पनि दुःखमा परिवर्तन हुन्छ । जस्तो कि आफूलाई माया गर्ने व्यक्तिको देहान्त भयो भने हामी दुःखी हुन्छौँ । आफैँमा समाहित हुनुमात्र आनन्द हो, यो मात्र स्थायी रहन्छ । आममानिस दुई प्रकारका हुन्छन् । पहिलो बाहिरतिर खोज्ने अर्थात् सांसारिक र दोस्रो ध्यानी ।

आफूप्रति सजग हुँदै गयो भने कुनै विन्दुमा पुग्दा शून्यता फेला पर्दछ, त्यहाँ दुःख हुँदैन न त सुख नै हुन्छ । भनिन्छ कि सजग व्यक्ति जीवन जिउन जान्ने व्यक्ति हो । सजगतापश्चात् फेला पर्ने शून्यता नै बोध हो । अकम्पको अनुभवलाई शून्यता पनि भनिन्छ । शून्यताका तीनगुणका रुपमा निर्विचार, निराकार र निःशब्द रहेका छन् । आँखा बन्दा गर्दा दुई आँखीभौँका बीचमा जे देखिन्छ त्यो नै आत्मगुफा हो । यसलाई आन्तरिक आकाश पनि भनिन्छ । सुरुमा पूरै अँध्यारो र क्रमशः उज्यालो देखिन्छ ।

यसरी देख्ने भनेकै शिव नेत्रले, तेस्रो आँखाले हो । यसैलाई वेदमा व्योमा भनिन्छ । पुराणमा यसलाई बृन्दावन भनिन्छ भने शिवपुराणले कैलाश र मृगस्थली दुबै प्रयोग गरेको पाइन्छ । उपनिषदमा भने यसलाई अरण्य भनिन्छ । विज्ञानको जगत्मा यसलाई क्वान्टम फिल्ड, द युनिफाइड फिल्ड जस्ता शब्द प्रयोग हुन्छन् । आत्मगुफालाई सन्ध्या पनि भनिन्छ । आत्मगुफा भनेको हाम्रो असली परिचय हो अनि मभित्रको म हो । म कै आध्यात्मिक नाम आत्मगुफा हो । आत्मागुफालाई सुक्ष्म शरीर, देह पनि भनिन्छ । मृत्युपश्चात् पनि आत्मगुफा मर्दैन । ‘आँखा छोपे अँध्यारो देखिन्छ, अँध्यारोमै मूल ज्योति भेटिन्छ’ भने झैँ गहिरो साधनाबाट मात्र बोध प्राप्ति सम्भव हुन्छ ।

सेवाभाव र दृव्यदृष्टि प्राप्ति

अपेक्षा इच्छा पनि दुःखको कारण हो । इच्छा कम गर्नका लागि इच्छा प्रतिको जागरुकता÷सजगता आवश्यक हुन्छ । चाहना दुई किसिमको हुन सक्छ : निजी चाहना र परोपकारी चाहना । जब जगतको हित गर्न थालिन्छ, स्वार्थी चाहना हराउँछन् । त्यसैगरी वेदले इन्द्रीयलाई गो भन्दछ भने इन्द्रीय दानलाई गोदान भनेको छ । वास्तवमा गोदान भनेको इन्द्रीयलाई बसमा राख्ने विषय हो ।

ऊर्जाको सदुपयोगको विषय हो । मन स्थिर राख्न सकेमात्र ध्यान लाग्दछ, बोध प्राप्तितर्फउन्मुख भइन्छ । बोध प्राप्त हुनु भनेको दिव्यदृष्टि हासिल हुनु पनि हो । सञ्जयले धृतराष्ट्रलाई कुरुक्षेत्रको घटना हस्तिनापुर बसेर सुनाउँदा पनि दिव्य तेस्रो आँखाको सहारा लिएका थिए । महर्षि व्यासले सञ्जयलाई सिकाएका थिए यो । दिव्यदृष्टिलाई तेस्रो नेत्र पनि भन्न सकिन्छ ।

गुरुप्रतिको सगताको पनि विशेष महत्व हुन्छ । गुरु भनेको हृदयमा आकाश, मुस्कानमा वैकुण्ठ, बोलीमा वेद र पुराण धारी हुन्छन् । त्यस्तै गुरुका लागि शिष्य भनेका एकमात्र देवता, एकमात्र प्रेम, एकमात्र भविष्य र एकमात्र आशा हुन् । अर्कोतर्फ शिष्यले आफूसँग भएको लोभ, रिस, इष्र्या, डर, तनाव, कुलत गुरुलाई अर्पण गर्दछ । त्यस्तै धनले किन्न नसकिने इमान्दारिता, समर्पण र निष्ठा पनि प्रकट गर्दछ । कसैले नलिने आँसु, अहङ्कार, असुरक्षा, अशान्ति पनि गुरुले लिन्छन् ।

सत्यता, सेवाभाव, मधुरवाणी, मुस्कान भए गुरु खुसी हुन्छन् । गुरुप्रतिको सजगतालाई नित्यावतार पनि भनिन्छ । साधना र सेवामा सहकार्यबाट शक्ति उत्पन्न हुन्छ । सफल जीवनका लागि ध्यानको गहिराई र सेवाको उचाइ दुवै आवश्यक पर्दछ । ध्यानको समुद्र र सेवाको सगरमाथा भएमा कर्मसिद्धि र सफल जीवन सम्भव हुन्छ । अनुसन्धानले पुष्टि गरेअनुसार योग ध्यान गर्नेको स्मरण क्षमता नगर्नेको तुलनामा १४ गुणासम्म बढी भएको अनुसन्धानले देखाएको छ । त्यस्तै ध्यान गर्ने व्यक्तिलाई ४८ प्रकारका रोग त लाग्नै पाउँदैनन् टाढैबाट भाग्छन् ।

अन्त्यमा

नेपाल योग र ध्यानका लागि उद्गम भूमि हो । धेरै शास्त्रहरुले नेपालमा आध्यात्मिक साधना गर्नका लागि थुप्रै ऋषिमुनिहरु, व्यक्तित्वहरुले समय खर्च गरेको हामी पढ्न पाउछौँ तर दुःखको कुरा अहिले विश्वस्तरको आरोग्य नक्साले भने नेपाललाई समेटेको छैन ।

नेपाल योग र ध्यानको जन्मभूमि हो । जसरी आफ्नो आमालाई कमजोर देख्नु हुँदैन, त्यसैगरी नेपालको यो बृहत् सम्भावनालाई आरोग्य पर्यटनको बृहत् अवधारणाअन्तर्गत सदुपयोग गर्नुपर्दछ । विगत १४ वर्षअघि स्थापना भएर सकृय रहेको जीवन विज्ञानका कार्यक्रम लोकप्रिय हुँदै गएका छन् भने अन्तरराष्ट्रियस्तरको साधना केन्द्रका रुपमा धादिङको थाक्रे गाउँपालिकामा जीवन विज्ञान धाम पनि निर्माण हुँदैछ ।

(लेखक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव तथा प्रवक्ताका साथै योग साधनाका अनुयायी हुन्)