समयसँगै बदलिँदै अमर चित्र कथा


बेङ्गलुरु, १८ माघ । भारतको चर्चित हास्य पुस्तक शृङ्खला ‘अमर चित्र कथा’ सन् १९६७ मा सुरु हुँदा यसको उद्देश्य सरल थियो । बालबालिकालाई हिन्दू देवताहरू, पौराणिक कथा र भारतीय इतिहासको विशाल संसारसँग परिचित गराउनु । करिब छ दशक बितिसक्दा पनि, स्मार्टफोन र स्ट्रिमिङ टेलिभिजनले प्रभुत्व जमाएको युगमा समेत अमर चित्र कथाले आफ्नो स्थान कायम राख्न सफल भएको छ ।

ए। सि। के। नामले परिचित अमर चित्र कथाको स्थापना कथाकार अनन्त पाईले गरेका थिए । एक क्विज कार्यक्रममा बालबालिकालाई आफ्नै पौराणिक पात्रभन्दा ग्रिक देवताहरूको जानकारी बढी भएको देखेपछि उहाँले यो शृङ्खला सुरु गरेका थिए । चाँडै नै यसले सांस्कृतिक पहिचानको रूप लियो । हिन्दू देवताका कथादेखि स्वतन्त्रता सेनानीहरूको जीवनीसम्म समेटिएका यसका शीर्षकहरू लाखौँ प्रति बिक्री भए र विभिन्न क्षेत्रीय भाषामा अनुवाद गरिए ।

तर यो यात्रामा चुनौती पनि कम आएनन् । भारतमा कार्टुन नेटवर्कको आगमन र महाभारतको लोकप्रिय टेलिभिजन रूपान्तरणले एक समय बिक्री घटायो । गत वर्ष मुम्बईस्थित गोदाममा लागेको आगलागीले कम्पनीका बहुमूल्य अभिलेखको केही अंश नष्ट गर्‍यो । यति हुँदाहुँदै पनि प्रकाशन निरन्तर अघि बढिरहेको छ । यसको श्रेय केवल बालपाठकलाई मात्र होइन, बाल्यकालमै अमर चित्र कथा पढेर हुर्केका वयस्क पाठकलाई पनि जान्छ ।

कार्यकारी सम्पादक रीना आई पुरीका अनुसार अमर चित्र कथाका सबैभन्दा धेरै पाठक २५ देखि ४५ वर्ष उमेर समूहका छन् । “यिनै पाठकहरू अमर चित्र कथा पढेर हुर्किएका हुन् र अहिले आफ्ना बालबालिकालाई पनि पढ्न दिन्छन्”, उनले भने ।

पाठकहरूमा बालबालिकाको आकर्षण पनि उस्तै छ । १३ वर्षीया आरव वेधनयगमले भारतीय वायु सेनाका पाइलटसम्बन्धी कथा आफूलाई मनपर्ने बताइन् । “कथालाई चित्रसँग जोडेर प्रस्तुत गर्ने शैली मन पर्छ”, उनले भनिन्, “सानो बच्चादेखि हजुरबुबासम्म सबैका लागि उपयुक्त छ ।”

समयसँगै चित्र र प्रस्तुति शैलीमा पनि परिवर्तन आएको छ । पहिलेका राम र शिवका चित्रहरूभन्दा अहिलेका पात्रहरू शारीरिक रूपमा सबल देखिन्छन् । पुरीका अनुसार आजका बालबालिका पुरानो चित्रशैलीमा अभ्यस्त छैनन्, त्यसैले परिवर्तन आवश्यक भयो । कथावस्तुमा पनि लैङ्गिक भूमिकाको चित्रण बदलिएको छ । पहिले महिला घरायसी काममा मात्र देखाइन्थ्यो भने अहिले पढ्दै, निर्णय गर्दै र सक्रिय भूमिकामा प्रस्तुत गरिन्छ ।

कोभिड–१९ महामारीले अमर चित्र कथालाई डिजिटलतर्फ अघि बढ्न प्रेरित गर्‍यो । एप निःशुल्क उपलब्ध गराउँदा पाठक सङ्ख्या बढ्यो र अहिले डिजिटल संस्करणबाट हुने आम्दानी प्रिन्ट बराबर पुगेको छ ।

तर कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमा भने प्रकाशकहरू सावधान छन् । “कलाकार र लेखकको श्रमको सम्मान हुनुपर्छ”, पुरीको भनाइ छ । युवा कमिक डिजाइनरहरू पनि मानव निर्मित प्रक्रियाले सामग्री बालबालिकाका लागि सुरक्षित हुने विश्वास व्यक्त गर्छन् ।

आगामी दिनप्रति प्रकाशकहरू आशावादी छन् । संस्थापकको दर्शनअनुसार भारतका बालबालिकालाई भारतकै कथा सुनाउने उद्देश्य कहिल्यै अप्रासङ्गिक नहुने उनीहरूको विश्वास छ । रासस