युद्धविरामसँगै गाजामा ‘रफाह नाका’ आवतजावतको लागि खोलिँदै


काइरो, १९ माघ । इजिप्टसँग जोडिएको गाजाको एकमात्र प्रमुख नाका ‘रफाह’ सीमित आवागमनका साथ सोमबारदेखि पुनः सञ्चालन हुने तयारीमा रहेको छ । दुई वर्षभन्दा बढी समयदेखि युद्ध र नाकाबन्दीको मारमा परेका गाजावासीहरूले आइतबार आशा र अधैर्यका साथ नाका पुनः खोल्ने तयारी अवलोकन गरेका छन् । इजरायलले हमाससँग भएको युद्धविराम कार्यान्वयनको प्रक्रियासँगै रफाह नाका पुनः खोलिने जनाएको हो ।

इजरायली अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा अत्यन्तै सीमित सङ्ख्यामा मानिसहरूलाई मात्र आवतजावतको अनुमति दिइनेछ । खान युनिसकी बासिन्दा घालिया अबु मुस्तफाले नाका खुल्नु सकारात्मक कदम भए पनि पार गर्न दिइने मानिसको सङ्ख्या सीमित हुनु गम्भीर समस्या भएको बताए ।

इजरायलले नाका परीक्षणका रूपमा आंशिक रूपमा खोलिएको र सोमबारदेखि बासिन्दाहरूलाई पार गर्न अनुमति दिइने जनाएको छ । तर सुरुमा थोरै मानिसहरूलाई मात्र आवागमनको अनुमति हुनेछ । रफाहकी विस्थापित बासिन्दा सुहाइला अल–अस्तालले गम्भीर बिरामी छोरीलाई उपचारका लागि विदेश लैजान आवश्यक रहेको भन्दै नाका स्थायी रूपमा खुल्नुपर्ने माग गरे ।

इजरायलको यो घोषणा युद्धविराम सुरु भएपछि भएको सबैभन्दा ठूलो हवाई आक्रमणको एक दिनपछि आएको हो । शनिबार भएको इजरायली आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जना प्यालेस्टिनी मारिएका थिए । इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

यसैबीच, गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठन गरिएको नयाँ ‘शान्ति बोर्ड’ का प्रमुख निकोले म्लादेनोभले सबै पक्षलाई संयम अपनाउन आग्रह गरे । उनले गाजा प्रशासनका लागि चयन गरिएको नयाँ प्यालेस्टिनी समितिसँग मिलेर भविष्यमा यस्ता घटना रोक्ने उपाय खोजिरहेको बताएको छ ।

प्रारम्भिक चरणमा दैनिक सीमित आवतजावत

इजरायलले सन् २०२४ मेमा नियन्त्रणमा लिएपछि रफाह नाका प्रायः बन्द रहँदै आएको छ । हाल करिब २० हजार बिरामी प्यालेस्टिनी उपचारका लागि गाजा बाहिर जान पर्खिरहेका छन् भने युद्धका कारण बाहिर गएका हजारौँ मानिस स्वदेश फर्कन चाहिरहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका अनुसार प्रारम्भिक चरणमा दैनिक ५० जना गम्भीर बिरामीलाई उपचारका लागि बाहिर जान अनुमति दिइनेछ । प्रत्येक बिरामीसँग दुई जना आफन्त जान पाउनेछन् । साथै, युद्धका क्रममा गाजाबाट बाहिर गएका ५० जनालाई दैनिक फर्कन अनुमति दिइनेछ ।

तर गाजा स्वास्थ्य मन्त्रालयका अधिकारी जाहर अल–वाहिदीले हालसम्म औपचारिक रूपमा चिकित्सकीय निकासी सुरु हुने सूचना नपाएको बताएका छन् ।

इजरायल र इजिप्टले नाका पार गर्ने व्यक्तिहरूको सुरक्षा जाँच गर्नेछन् भने युरोपेली सङ्घका सीमा सुरक्षा अधिकारीहरूले प्रक्रियाको निगरानी गर्नेछन् । प्रणाली सफल भएमा यात्रुहरूको संख्या क्रमशः बढाइने बताइएको छ ।

इजरायलले हालसम्म दुई दर्जनभन्दा बढी मानवीय संस्थालाई नयाँ नियम नमान्दा गाजामा काम गर्न प्रतिबन्ध लगाइसकेको छ । इजरायलले ती नियम हमासजस्ता सशस्त्र समूहहरू सहायता संस्थामा घुसपैठ रोक्नका लागि आवश्यक भएको दाबी गर्दै आएको छ । तर सहायता संस्थाहरूले यी प्रतिबन्धले गम्भीर मानवीय संकट झनै गहिरिने चेतावनी दिएका छन् ।

युद्धविराम र आगामी चरण

रफाह नाका युद्धअघि गाजाको मुख्य आवागमन मार्ग थियो । हाल युद्धविरामले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको दुई वर्षभन्दा लामो इजरायल–हमास युद्ध रोकेको छ । उक्त हमलामा इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली प्रतिकारात्मक आक्रमणमा हालसम्म ७१ हजार ७९५ प्यालेस्टिनी मारिएका छन् । युद्धविरामको पहिलो चरणमा बन्धक र कैदी साटासाट, मानवीय सहायता वृद्धि तथा इजरायली सेना आंशिक रूपमा फिर्ता हुने व्यवस्था गरिएको छ ।

दोस्रो चरण अझ जटिल मानिएको छ, जसमा गाजाको शासनका लागि नयाँ प्यालेस्टिनी समिति, अन्तर्राष्ट्रिय सुरक्षा बलको तैनाथी, हमासको निशस्त्रीकरण र पुनर्निर्माण प्रक्रिया सुरु गर्ने विषय समावेश छन् । रासस