निर्माण कार्यका लागि करिब दुई वर्ष बन्द हुने ट्रम्प केनेडी सेन्टर


वासिङ्टन, १९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईदेखि करिब दुई वर्षका लागि ‘जोन एफ। केनेडी सेन्टर फर द परफर्मिङ आट्सर्’ बन्द गरिने घोषणा गरेका छन् । हालै ‘ट्रम्प केनेडी सेन्टर’ नाम दिइएको उक्त सांस्कृतिक केन्द्रमा व्यापक निर्माण कार्य गरिन लागेकाले मनोरञ्जनसम्बन्धी गतिविधि अस्थायी रूपमा रोकिने जनाइएको छ ।

आइतबार ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अस्थायी बन्दले ‘छिटो र उच्चस्तरीय नतिजा’ दिने दाबी गरे । उनका अनुसार केनेडी सेन्टर आगामी सन् २०२६ जुलाई ४ तारिखदेखि बन्द हुनेछ र त्यसै दिनदेखि नयाँ तथा भव्य मनोरञ्जन परिसरको निर्माण कार्य एकैसाथ सुरु गरिनेछ ।

यस घोषणाअघि ट्रम्प प्रशासनद्वारा केनेडी सेन्टरको कार्यक्रम व्यवस्थापन र संस्थाको नाम परिवर्तनलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो । सो विवादका कारण थुप्रै चर्चित कलाकारहरूले आफ्ना प्रस्तुति रद्द गरेका छन् ।

हालै प्रख्यात सङ्गीतकार फिलिप ग्लासले आफ्नो सिम्फनी नम्बर १५ ‘लिन्कन’ प्रस्तुत नगर्ने घोषणा गरे । उनले वर्तमान नेतृत्वअन्तर्गत संस्थाले प्रतिनिधित्व गर्ने मूल्यहरू आफ्नो सिर्जनाको सन्देशसँग प्रत्यक्ष रूपमा टकरावमा रहेको बताउका छन् । केनेडी सेन्टरलाई अमेरिकाको राष्ट्रिय सांस्कृतिक केन्द्रका रूपमा लिइन्छ । यहाँ सङ्गीत, ओपेरा, नाटक, नृत्य तथा अन्य प्रदर्शन कलाका विश्वस्तरीय कार्यक्रमहरू आयोजना हुँदै आएका छन् ।

दोस्रो कार्यकालका लागि पदभार सम्हालेपछि राष्ट्रपति ट्रम्पले केनेडी सेन्टरमा सक्रिय भूमिका खेल्दै आएका छन् । उनले अघिल्लो नेतृत्व हटाएर आफैंलाई बोर्ड अध्यक्षको रूपमा नियुक्त गरे ।

यसैबीच, गत बिहीबार राति केनेडी सेन्टरमा प्रथम महिला मेलानिया ट्रम्पमाथि आधारित वृत्तचित्र ‘मेलानिया’ को प्रिमियर प्रदर्शन गरिएको थियो । रासस