भोजपुर, , माघ २० । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा सिँचाइ पोखरी निर्माण भएर एकैसाथ २१ घरपरिवारलाई सिँचाइको पहुँच पुगेपछि किसानहरुमा उत्साह थपिएको हो ।
विगतमा पानीको अभावले परम्परागत खेतीमा सीमित स्थानीय किसानहरु अहिले बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला र आलु जस्ता नगदेबाली उत्पादनमा जुटेका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा भएपछि आफूले तीन रोपनीमा व्यावसायिक तरकारी खेती सुरु गरेको बताए । पानीको अभाव हट्दा खेती गर्न निकै सहज भएको र यसले आम्दानीको बाटो खोलेको उनको भनाइ छ ।
प्रदेश सरकारको क्रमागत बजेटबाट प्राप्त ३० लाख रुपैयाँ खर्चेर तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरिएपछि यस क्षेत्रको सिँचाइ समस्या समाधान भएको हो । वडाध्यक्ष राजेन्द्र राईका अनुसार तरकारी उत्पादनका लागि यो क्षेत्र उपयुक्त भए पनि पानीको समस्याले किसानहरु पछि परेका थिए, जुन अहिले हटेको छ ।
बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ को साथ
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ‘एक घर, एक टनेल’ कार्यक्रम र सिँचाइ पोखरी निर्माणलाई तीव्र बनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सडक सञ्जालको पहुँच पुगिसकेकाले यहाँ उत्पादित तरकारी बिक्री गर्न बजारको समस्या नभएको उल्लेख गरिन् ।
गाउँपालिका अध्यक्ष किरण राईले किसानलाई आत्मनिर्भर बनाउन भूगोल र माटो सुहाउँदो जैविक खेतीमा जोड दिएको बताए । किसानले उत्पादन गरेका सामग्री सहजै बजारसम्म पुर्याउन गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा समेत सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको प्राविधिक सहयोग र अनुदान कार्यक्रमले स्थानीय युवा तथा किसानलाई व्यावसायिक कृषिमा टिक्न थप प्रोत्साहन मिलेको छ । रासस




प्रतिक्रिया