अमेरिकासँग वार्ताको सङ्केत


दुबई, २० माघ । इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत वार्ता’ गर्न चाहेको स्पष्ट सङ्केत दिएका छन् । उनले विदेशमन्त्रीलाई यससम्बन्धी पहल अघि बढाउन निर्देशन दिएको बताएका हुन् । गत महिना राष्ट्रव्यापी विरोध प्रदर्शनको कठोर दमनपछि वासिङ्टनसँग तनाव चर्किएका बेला तेहरानबाट आएको यो पहिलो प्रत्यक्ष सन्देश मानिएको छ ।

यस घोषणालाई सुधारवादी राष्ट्रपति पेजेस्कियानका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । पछिल्ला हप्ताहरूमा देशभित्रको अस्थिरता आफ्नो नियन्त्रणभन्दा बाहिर गएको चेतावनी दिँदै आएका उनले अब कूटनीतिक बाटो खोल्न खोजेको देखिएको छ । यसले सर्वोच्च नेता आयातोल्लाह अली खमेनीबाट पनि वार्ताका लागि सहमति प्राप्त भएको सङ्केत दिने विश्लेषकहरूको भनाइ छ ।

क्षेत्रीय मध्यस्थतामा टर्कीले पर्दापछाडि प्रयास गरिरहेको बताइएको छ । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफ यस क्षेत्रको भ्रमणमा रहेका छन् । तर वार्ता सफल हुन्छ कि हुँदैन भन्ने अझै अनिश्चित छ, किनकि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई वार्ताको मुख्य सर्त बनाइरहेका छन्।

राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जालमार्फत अङ्ग्रेजी र फारसी भाषामा लेख्दै क्षेत्रका मित्रवत सरकारहरूको आग्रहपछि यो निर्णय लिइएको जानकारी दिएका छन् । उनले गरिमा, विवेक र निष्पक्षताका आधारमा, धम्की र अनुचित अपेक्षाविना वार्ता हुनुपर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमा वार्ता सुरु भएको स्वीकार गरेको छैन । तर ट्रम्पले सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग संवाद जारी रहेको र सम्झौता हुन सके राम्रो हुने बताएका छन् । उनले समाधान ननिस्किए गम्भीर परिणाम आउन सक्ने चेतावनीसमेत दिएका छन् । रासस