काठमाडौं । नक्सालस्थित रेज फिटनेस अन्तर्गतको रेज फाइट टिमका खेलाडीहरू युजिन र कोशिशले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएका छन्।
५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी युजिनले श्रीलंकाकी खेलाडी शैनी चामोद्यालाई पहिलो राउण्डमै रेफ्री स्टपेजमार्फत पराजित गर्दै शानदार जित हात पारिन्। युजिनको सुरुवाती प्रतिस्पर्धा पाकिस्तानकी बुश्रा अख्तरसँग तय भएको थियो। तर बुश्राको चोटका कारण अन्तिम समयमा, नेपालबाट यात्रा गर्ने क्रममा नै प्रतिद्वन्द्वी परिवर्तन भई श्रीलंकाकी शैनी चामोद्यासँग भिडन्त तय भएको थियो।

त्यस्तै, ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कोशिशले भारतका खेलाडी सुर्या पी. लाई दोस्रो राउण्डमा टीकेओ (TKO)मार्फत पराजित गर्दै निर्णायक जित दर्ता गरे। कोशिशको प्रारम्भिक प्रतिस्पर्धा भारतकै फहादसँग तय भएको थियो। तर फहाद बिरामी परेपछि, खेल हुनुभन्दा एक हप्ता अघि नै प्रतिद्वन्द्वी परिवर्तन गरिएको थियो।
अन्तिम समयमा प्रतिद्वन्द्वी परिवर्तन भएपनि दुबै खेलाडीले उच्च आत्मविश्वास, कडा तयारी र उत्कृष्ट कौशल प्रस्तुत गर्दै जित हात पार्न सफल भए। रेज फिटनेस, नक्सालको रेज फाइट टिमबाट प्रतिस्पर्धा गरेका युजिन र कोशिशको यो सफलताले नेपाली मार्शल-आर्ट्स क्षेत्रमा नयाँ उत्साह थपेको छ।




प्रतिक्रिया