काठमाडौं, माघ २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, बाँके जङ्गलमा बुधबार बिहानपख कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । बाँके जङ्गलको तेस्रो लच्कामा काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्वरको कार बाँके जङ्गलको तेस्रो लच्कामा पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा डाइभर्सन बनाएको ठाउँमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटना हुँदा कारमा सवार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१, बस्ने २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको हो । हात, खुट्टा र छातीमा चोट लागेर गम्भीर घाइते शुभमको उपचारका क्रममा आज बिहान शुभस्वस्तिक अस्पताल बर्दिवासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
दुर्घटनामा कार चालक बुटवल उपमहानगरपालिका –१ कै २३ वर्षीय साहिल बर्मा, कारमा सवार ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सन्जय जैसवाल घाइते भएका छन् । उनीहरुको शुभस्वस्तिक अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार आज बिहान २ बजेतिर कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।




प्रतिक्रिया