बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार


दमौली (तनहुँ), २१ माघ । भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो ।

खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको छ । मस्यौदामा सरोकारवाला निकाय, प्राविधिक तथा जनप्रतिनिधिबाट प्राप्त सुझाव समेटी एक साताभित्र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिइने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । अन्तिम डिपिआर तयार भएपछि टेण्डर प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाइने उनले बताए ।

यस परियोजनालाई नगर गौरवको आयोजनाका रूपमा अघि बढाउन लागिएको हो । दीर्घकालीन प्रभाव र क्षेत्रीय महत्वलाई ध्यानमा राख्दै यसलाई बहुवर्षीय योजनाका रूपमा सूचीकृत गर्न नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष औपचारिक अनुरोधसमेत गरिएको छ । प्रस्तावित डिपीआरअनुसार यस परियोजनाअन्तर्गत करिब १५ करोड बराबरका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

काउरेटार कभर्डहल निर्माण शीर्षकमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ । करिब ४० रोपनी जग्गामा फैलिने यो परियोजनाको प्रतिवेदन फोरजी इञ्जिनियरिङ सोलुसन प्रालिले तयार गरेको हो । प्रस्तावित रङ्गशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारका विभिन्न संरचना निर्माण गर्ने योजना छ । यसअन्तर्गत भलिबल, कबड्डी, बास्केटबल, टेबल टेनिस, व्याडमिन्टन, जुडो, कराते, उसु र बक्सिङका लागि छुट्टाछुट्टै कोर्ट रहनेछन् । साथै आधुनिक फुटबल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ ।

खेलकुद गतिविधिलाई जीवन्त बनाउन दर्शकको सुविधा विशेष रूपमा समेटिएको छ । कभर्डहलभित्र ३०० जना र एक हजार २०० जना बस्न मिल्ने प्याराफिट निर्माण गरिने प्रस्ताव छ । खेलाडी, प्रशिक्षक र दर्शकको सहजताका लागि शौचालय, खानेपानी सुविधा, प्रशासकीय भवन, मञ्च (स्टेज), मूल बाटोदेखि खेलमैदानसम्म पुग्ने पहुँच मार्ग तथा पक्की कम्पाउण्डसमेत निर्माण गरिनेछ ।

नगरप्रमुख त्रिपाठीले भने, “यो आयोजना सम्पन्न भएपछि काउरेटार क्षेत्र खेलकुद पर्यटन हवका रूपमा विकास हुने अपेक्षा गरिएको छ । यस प्रकारको आधुनिक खेलकुद पूर्वाधारले तनहुँ मात्र होइन, लमजुङ र गोरखा जिल्लालाई सेवा पु¥याउनेछ ।” आयोजना सम्पन्न गर्न तथा यसलाई बहुवर्षीय आयोजनाका रूपमा स्थापित गर्न सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्ने त्रिपाठीले बताए । रासस