म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री


म्याग्दी, २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् ।

बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए ।

“गत वर्षको तुलनामा यसपाली बोटमा २५ प्रतिशत कम दाना लागेको छ,” उनले भने “बढी मूल्यमा सुन्तला बिक्री भएकाले गत गत वर्षकै हाराहारीमा आम्दानी भएको छ ।” बढी मूल्य पार्नका लागि माघ महिना लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए ।

दोसल्लेको बगैचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ । अझै ४० प्रतिशत सुन्तला बोटमै छ । किसान र ब्यापारीहरुलाई सुन्तला टिपेर, ग्रेडीङ गर्ने र बजार पठाउने चटारो छ । देशका धेरै ठाउँका बगैचा रित्तिएपछि याम सकिने समयमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका अगुवा किसान खगबिर पाइजाले बताए ।

“यसअघिका बर्षमा मंसिर–पुष महिनामा सुन्तला बिक्री गर्दा २० किलोको प्रतिक्रेट एक हजार सात सय मा बिक्री हुने गरेको थियो,” उनले भने “यसपाली प्रतिक्रेट दुई हजार पाँच सय मूल्यमा बिक्री भइरहेको छ ।”

अन्यत्रको सुन्तला सकिएकाले ब्यापारिले प्रतिक्रेट तीन हजार दुई सय सम्म मूल्य तिर्न तयार भएका अर्का किसान बिकास श्रेष्ठले बताए । पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।

दोसल्लेका सबै घरले सुन्तला खेती गरेका छन् । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।

दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । रासस