बैतडी जन्ती बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १३ पुग्यो


काठमाडौं, माघ २३ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् । हिजो बेलुकी बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको हो ।

दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ । दुर्घटनामा आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइतेहरुको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरास्थित उप क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।