झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल


लुम्बिनी २३, माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका कारण समाजमा गम्भीर समस्या देखिएको बताएका छन् । उनले झुटा सूचनाको फैलावटले समाजमा समस्या सिर्जना गरिरहेको बताए ।

प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको आज बुटवलमा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए ।

“समाजमा झुटो सूचनाको बिगबिगी छ । सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ”, उनले भने, “झुटो भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्छ ।”

विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानवहितका लागि हुनुपर्ने बताए ।

उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे । उनले प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न नसक्ने पनि बताए । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने बताए । उनले यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने बताउँदै प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह गरे ।

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा आयोजिक तालिममा रुपन्देहीमा क्रियाशील २ दर्जन बढी पत्रकारको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा एआई विज्ञ अजय शर्मा र अमृत पन्थी रहेका छन् । रासस