प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चद्वारा सदर


काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषको आदेशलाई सदर गरेको हो ।निलम्बित महानिर्देशक अधिकारीलाई विशेष अदालतले गत मङ्सिर २१ गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

विशेषले थुनामा पठाएपछि अधिकारी त्यसविरुद्ध सर्वोच्च पुगेका थिए । हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।