काठमाडौं, माघ २४ । पछिल्लो तीन दशकको मौसमी तथ्याङ्क हेर्दा हरेक वर्षको फागुन २०, २१ र २२ गतेको मौसम सफा रहेको देखिएको छ । हाल नेपालसँग एक साता पछिसम्मको मात्रै मौसमी भविष्यवाणी गर्न सक्ने संयन्त्र भएका कारण आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्लाको मौसम खराब रहन सक्ने र जसकारण निर्वाचन प्रक्रियै बिथोलिन्छ कि भन्ने बहस भइरहेको बेला मौसम विज्ञान विभागले यस्तो तथ्याङ्क बाहिर ल्याएको हो ।
सम्भावित मौसमी बदलावका कारण हिमाली जिल्लाको निर्वाचन सार्नुपर्ने हो कि भन्ने सर्वत्र चासो बढेपछि आयोगले मौसम विज्ञान विभागसँग मौसमी भविष्यवाणी मागेको थियो । विभागले विगत तिस वर्षको तथ्याङ्क केलाएपछि उक्त निश्कर्ष निकालिएको हो ।
आयोगका प्रवक्ता नारायण भट्टराईले भने, “यो मितिमा कुनै पनि वर्षाको सम्भावना देखिएको छैन्। तसर्थ आगामी निर्वाचनमा पनि मौसम बाधक बन्दैन भन्ने हामीले अपेक्षा गरेका छौँ । निर्वाचनसम्म विभागबाट हरेक साताको मौसमी जानकारी लिइरहने र सोही अनुसार मतदानको व्यवस्थापन गरिने छ ।”




प्रतिक्रिया