काठमाडौं, माघ २४ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको जनाइएको छ ।
कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सामाजिक सञ्जालबाट जानकारी दिँदै लेखेका छन्, ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ । नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ । कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस् ।’
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित रहेका थिए । उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्दै आएका छन् भने थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । उनी लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।




प्रतिक्रिया