सुशीला कार्कीलाई प्रभु साहको प्रश्न : तपाईंको सरकारको भन्दापनि बढि म्याद किन चाहियो जाँचबुझ आयोगलाई ?
वीरगंज, २८ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्ता जोगाउन जेनजी युवाहरुको हत्या गर्ने केपी ओली र आरजु देउवाहरू अनि सत्ता पाउनको लागि युवाहरुलाई उक्साउने रवि लामिछाने र बालेन शाहजस्ता दुवै अतिवादीहरुबाट देशलाई जोगाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘जेनजी पुस्ताले देशमा सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कारबाही गर्नको लागि सचेततापूर्वक आन्दोलन गरे, तर सत्ता जोगाउन केपी ओलीहरुले गोलीको वर्षा गराए, युवाहरुको हत्या गराए, अनि उता युवाहरुलाई बलिको बोको बनाएर सत्तारोहण गर्ने रवि लामिछाने र बालेन शाहहरुबाट यो देशलाई बचाउनुपर्छ । दुवै अतिवादीलाई कारबाही हुनुपर्छ ।’
उनले भदो २३ र भदौ २४ गतेको जेनजी आन्दोलनपछिको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको औचित्यमाथि पनि प्रश्न उठाए । सुशीला कार्की नेतृत्वको सरकारको आयु नै सकिने बेला भईसक्दापनि सो सरकारले बनाएको जाँचबुझ आयोगले काम गर्न नसक्नु भनेको आयोगको असफलता भएको साहको आरोप छ ।
आज (बुधबार) वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले आयोग जेनजी आन्दोलनका हत्यारा केपी ओलीहरूसँग डराएको प्रमाणित भइसकेको पनि स्मरण गराए । उनले भने, ‘आयोगले तत्कालिन सरकारको नेतृत्वमा बसेका र युवाहरुलाई ताकि ताकि गोली हान्न आदेश दिनेहरुसँग बयान लिनपनि डरायो, घरघरमा गएर चाकरी गरेको देखियो, प्रेमी–प्रेमिकाबीचको पत्राचारजस्तो गरियो, यताबाट प्रश्न सोध्ने र उताबाट उत्तर दिने काम गरियो, यो जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुको अपमान हो । यो आयोग निकम्मा भइसकेको छ । जेनजी आन्दोलनका हाईज्याकर सुशीला कार्कीहरुको सेवामा लागेको छ । जेनजी पुस्तालाई हत्या गरेर भएपनि सत्ता जोगाउन चाहने ओली प्रवृत्ति र जेनजीलाई मर्न उक्साएर सत्ता प्राप्तिको भोक जागेका रवि र बालेनहरुबाट देशलाई जोगाउनुपर्छ । यो सुशीला सरकार दुवै अतिवादीहरुको सेवामा खटिएको छ ।’
सुशीला सरकारको आयु नै जम्मा ६ महिना तोकिएर चुनावको मिति आईसक्दापनि जाँचबुझ आयोगले प्रतिवेदन बाहिर ल्याउन नसक्नु आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको अपमान भएको साहको आरोप छ । उनले भने, ‘म यही मञ्चबाट सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु नै सकिने बेला भईसक्यो, तर तपाईंले गठन गरेको आयोगको म्याद चाहीँ लम्बिएको लम्बिएछ, किन यस्तो कुकर्म गर्नुहुन्छ । आयोगले प्रतिवेदन तयार भईसक्यो भनेर यसका पदाधिकारीले सार्वजनिक रुपमा बोलिसकेका छन्, अनि त्यो प्रतिवेदन सार्वजनिक गर्न के को समय चाहिन्छ ? सार्वजनिक गर्नुहोस ।’
साहले अहिलेको चुनाव जेनजी आन्दोलनको आलोकमा हुन गईरहेकोले नेपाली जनताले भदौ २३ र भदौ २४ गतेको यथार्थ जान्न चाहेको भन्दै तत्कालै जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
उनले अहिलेको निर्वाचनमा जनताले असल नेताको खोजी गरेको भन्दै नक्कली नायकको भ्रम फिजाएर जनमत लिने कोशिस भएको भन्दै न्यायप्रेमी जनताले आफ्नो विवेक सही तवरले प्रयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले गरिव, निमुखा, भुईंमान्छेको न्यायको लागि लड्ने पार्टीलाई नै जनताले माया गर्ने भन्दै यो निर्वाचनमा अतिवादी, लोकप्रियतावादी र नक्कलीहरु पराजित हुने दाबी गरे । उनले भने, ‘अहिले लडाईं सत्यवादी र शक्तिवादीहरुबीच भईरहेको छ । हामी संख्यामा होईन, सत्यमा विश्वास गर्छौं । जनताले न्याय दिनुहुनेछ भन्ने विश्वास छ ।’





प्रतिक्रिया