ऋषि धमलाको चुनावी अपिलमा के छ ? निःशुल्क शिक्षा पहिलो एजेण्डा, उखु किसानहरुको समस्या समाधान गर्न डटेर लाग्ने (अपिलको पूर्णपाठसहित)


काठमाडौं, २९ माघ । रौतहट–४ का प्रतिनिधिसभाका उम्मेदवार ऋषिराज धमलाले आफ्नो चुनावी अपिल सार्वजनिक गरेका छन् । पत्रकारिताको लामो अनुभवलाई देश जनताको सेवामा सदुपयोग गर्ने निश्चय गर्दै आफू आम जनता पार्टीको तर्फबाट रौतहट–४ मा उम्मेदवारको रूपमा प्रस्तुत भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘विगत ३५ वर्षदेखि नेपालको पत्रकारितामा अविच्छिन्न सक्रिय रहँदै मैले लोकतन्त्र, शान्ति, सहमति, सुशासन र समृद्धिको पक्षमा आवाज बुलन्द गर्दै आएको यहाँहरुलाई अवगत नै छ । अबको मेरो संघर्ष देशको बेथितिविरुद्ध केन्द्रित हुनेछ । अबको मेरो बाँकी उमेर देश र जनतामा समर्पित हुनेछ । हाम्रो गरिबी, अशिक्षा, अभाव र पछौटेपनको मूल जड भनेकै भ्रष्टाचार र कुशासन हो ।’

आफू धादिङको ज्यामरुङजस्तो हिमालको काखमा जन्मिएको भएपनि मधेशका जनताका दुःख, दर्द देखेपछि आफ्नो राजनीतिक सक्रियताको केन्द्र रौतहटलाई नै बनाउनुपर्छ भन्ने लागेर सक्रिय भएको उनको भनाई छ । जीवनमा धेरै पटक रौतहटको भ्रमण गरेको उल्लेख गर्दै धमलाले वितेको यी ३० वर्षमा पनि रौतहटका समस्या उस्तै पाएको स्मरण गराएका छन् । उनले रौतहटको शिक्षाको अवस्था नाजुक रहेको भन्दै यसलाई उकास्नको लागि आफू लागिपर्ने बताए । सो जिल्ला स्वास्थ्यको हिसाबले पनि धेरै पछि परेको भन्दै सामूदायिक अस्पताल रिफर सेन्टरको रुपमा परिणत भएको भन्दै समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि आफूले ध्यान दिने र काम गर्ने पनि धमलाले विश्वास दिलाएका छन् ।

धमलाले अपिलमार्फत आफूले तत्काल गर्ने कामको फेहरिस्त पनि सार्वजनिक गरेका छन् । पहिलो बुँदामा निःशुल्क शिक्षा उल्लेख गरिएको छ । जहाँ भनिएको छ,‘सर्वप्रथम निःशुल्क शिक्षाका लागि मेरो विशेष जोड रहनेछ । सीपमूलक तालिम र सीपमूलक शिक्षामा जोड दिनेछु । यसैगरि गरिबीको रेखामुनि रहेका तथा विपन्न बालबालिकाका लागि शैक्षिक सामाग्री र मध्यान्ह भोजनको व्यवस्था मिलाउने व्यवस्था गर्नेछु ।’ धमलाले औद्योगीकरणलाई बढावा दिई स्वदेशमै रोजगारी सिर्जना गर्नतर्फ पहलकदमी लिनेपनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै, कृषिको विकास आफ्नो अर्को मुख्य एजेण्डा भएको उनको भनाई छ । सिचाईंको व्यवस्था मिलाउँदै किसानका लागि पर्याप्त मल र बिउ उपलब्ध गराउने मात्र नभएर किसानका उत्पादनलाई उचित मूल्य दिलाउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, उखु किसानहरुको समस्या समाधान गर्न डटेर लाग्ने र उनीहरुलाई उचित मूल्य दिलाएरै छाड्ने पनि उनको घोषणा छ । उनले आफूले जितेको खण्डमा एक वर्षभित्र भूमिहिनहरुको लागि लालपूर्जा उपलब्ध गराएरै छोड्ने पनि महत्वकांक्षी घोषणा गरेका छन् । मजदुरलाई उचित ज्याला, महिला सशक्तिकरणदेखि उनीहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्ने कुरापनि उनले उल्लेख गरेका छ्न ।