काठमाडौं, २९ माघ । आम जनता पार्टी (आजपा)ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि घोषणापत्र लेखनकार्य सम्पन्न भएकाले पत्रकार सम्मेलन गर्दै भोलि घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको आजपा कार्यालय सदस्य रविन्द्र सिंहले जनाए ।
आजपा अध्यक्ष प्रभु साह, नेता ऋषी धमला लगायतको विशेष उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको छ । लुटकारी व्यवस्था, दलाल दलतन्त्र, भ्रष्टाचार, सरकारपिच्छेको कर आतंक बिरुद्धमा संघर्ष गर्दै आएको आजपा शासन व्यवस्थामा आम जनताको सहभागिताका लागि आन्दोलन गर्दै आएको छ ।
अहिलेको व्यवस्था नै खराब भएकाले मुलुकको अवस्थामा पनि खराब भएको निष्कर्षसहित आजपाले आन्दोलन गर्दै आएको छ । जेन-जी आन्दोलनलाई खुलेर समर्थन गर्ने र सो आन्दोलनलाई संस्थागत गर्नुपर्ने आवाज उठाउदै आएका आजपा अध्यक्ष प्रभु साहले भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने बताउदै आएका छन् ।
जेनजी आन्दोलन हाईज्याक भएको बताउदै जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, हाईज्याकरका बिरुद्धमा आवाज उठाउदै जेनजी आन्दोलनलाई संस्थागत गर्न खोज्ने आजपाका उम्मेदवारलाई मतदान गर्नुपर्ने उनको मत छ । ‘अबकी बार जनताकी सरकार’ भन्दै साहले दलतन्त्रबिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागी हुनका लागि सबैलाई मोवाईल छापमा मतदान गर्न अपिल समेत गरेका छन् ।
स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्रविरुद्ध आम जनताको सरकार हुनुपर्नेमा साहको जोड छ ।




प्रतिक्रिया