काठमाडौं, १ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धकालिन दिनहरु सम्झिँदै लावाङप्रति सधैं ऋणी रहेको बताएका छन् । चुनावी अभियान लिएर लावाङ पुगेको अवसरमा आज जनयुद्ध दिवसलाई स्मरण गर्दै दाहालले यस्तो बताएका हुन् ।
उनले भने,‘आज जनयुद्ध दिवस हो। जनयुद्ध हामीले सुरु गरेको २० वर्ष पूरा भएर २१ वर्ष लागेको छ आजदेखि। यस्तो ऐतिहासिक दिनमा, लावाङ जस्तो ऐतिहासिक गाउँ, जहाँ हामी धेरै महत्त्वपूर्ण बैठक तपाईँहरूकै काखमा र तपाईँहरूकै सुरक्षामा बसेका थियौं । तपाईँहरूले नै हामीलाई कुनै असुविधा हुन नदिने गरी खुवाउने, प्याउने, बस्ने सबै व्यवस्था गर्नुभएको थियो। म ती दिनहरूलाई अहिले ताजा रूपमा सम्झिराखेको छु। लावाङप्रति जहिले पनि हामी ऋणी छौँ। तपाईंहरुले जनयुद्धको तयारी, जनयुद्धको उठानदेखि सबै काममा सहयोग गर्नुभएको छ ।’
सो क्रममा उनले जनयुद्धकी शहीद धनमाया श्रेष्ठसहित सबै शहीदहरुप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए । जनयुद्धका घाईते, अपाङ र बेपत्ता योद्धाहरुलाई पनि उनले स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए । उनले लावाङ गाउँ, माओवादी पार्टी, जनयुद्ध र अहिलेको गणतन्त्रबीच गहिरो सम्बन्ध रहेको स्मरण गराए ।
पार्टी शुद्धिकरणको लागि भने यही गाउँमा तत्कालिन वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कारबाही गरिएको पनि उनले स्मरण गराए । दाहालले भने,‘साँच्चै नै यो गाउँ र हाम्रो पार्टी, जनयुद्ध र अहिलेको गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बीचमा गहिरो सम्बन्ध छ। यो गाउँमा तपाईँहरूको काखमा हामीले बैठक बस्दै गर्दा २१ वर्ष अगाडि परिस्थिति अर्कै थियो। यहाँ हामी बैठक बसिराखेका थियौँ, एकातिर पार्टीभित्र समस्या भएको हुनाले केही नेता साथीहरूले पार्टी अनुशासन, विधि, पद्धति तोडेर बाहिर प्रतिक्रियावादीलाई खुसी बनाउने खालका समाचार लेखे बापत हामीले कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएर यही ऐतिहासिक गाउँमा बसेर पार्टीलाई शुद्ध पार्न, गलत प्रवृत्तिबाट पार्टी बचाउनको लागि हामीले त्यतिबेलाका एकजना वरिष्ठ नेता कमरेड बाबुराम भट्टराईलाई कारबाही गर्नु परेको थियो, हामीले कारबाही गरेका थियौँ।’

उनले थपे, ‘म यहाँ उम्मेदवार भएर फेरि तपाईँहरूसँग, तपाईँहरूको घरदैलोमै, गाउँहरूमा, ऐतिहासिक गाउँमा हामी भरे चुनवाङमा पनि जाँदै छौँ। चुनवाङ पनि एउटा ऐतिहासिक गाउँ हो हाम्रो लागि। त्यहाँ पनि हामी जाँदै छौँ र त्यहाँको जनतासँग पनि हामी प्रत्यक्ष यसरी नै भेटघाट गर्नेछौँ र अन्यत्र पनि। रुकुम, रोल्पा, जाजरकोट, सल्यान जस्ता त्यतिबेलाका केन्द्रीय आधार इलाकाका प्रत्येक गाउँमा, प्रत्येक पहाडमा जनयुद्धका इतिहासका ठूल–ठूला कीर्तिमान लुकेका छन्।’
Photo Source: Kanti Voice/Facebook




प्रतिक्रिया