काठमाडौं, १ फागुन । रौतहट–४ बाट प्रतिनिधिसभाका उम्मेदवार ऋषिराज धमलाले देश अहिलेपनि विषम परिस्थितिमा रहेको र लयमा नआईसकेको बताएका छन् । उनले देश भ्रष्टाचार, कुशासन, दलतन्त्र र लुटतन्त्रको मारमा परेकोले पछि परेको बताए । आम जनता पार्टीको चुनावी घोषणापत्रलाई सम्बोधन गर्दै धमलाले आफू जेनजी पुस्ता सडकमा आन्दोलनको लागि आउनुअघि धेरै पहिले नै सडकमा कुशासनविरुद्ध उत्रिएको स्मरण गराए । मुलुकमा ठूला ठूला क्रान्ति र आन्दोलन सफल भएर व्यवस्था परिवर्तन हुँदापनि देश र जनताको अवस्था परिवर्तन नभएकोमा उनको गुनासो थियो । उनले अहिले पनि संविधानमा केही संशोधन आवश्यक छ भन्ने आवाज रहेको सुनाए ।
उनले भने,‘३५ वर्षमा धेरै शासक फेरिए, कोही पनि प्रधानमन्त्रीले पाँच वर्ष काम गर्न पाएको छैन । नेपालको राजनीति अस्थिरताको भूमरीमा फस्यो । देशमा प्रगति भएन । आन्दोलन र क्रान्तिमा सफलता प्राप्त गर्ने, व्यवस्था परिवर्तन गर्नमा सफलता प्राप्त गर्ने, तर अवस्था सुधार गर्न सकिएन । हाम्रो देशमा दुई तिहाई, बहुमत, अल्पमत सबै सरकार बने । तर, कुनैपनि सरकारले राजनीतिक स्थायित्व दिन सकेनन् । देश अगाडि बढेन । विकास हुन सकेन । ठूला दलका ठूला नेताले देशको बागडोर सम्हाले, तर भ्रष्टाचार र कुशासन भयो । डेलिभरी भएन । जेनजीहरु फेरि पनि सडकमा आउनुपर्यो । जेनजीहरु सडकमा आउनुअघि नै ऋषि धमला सडकमा गईसकेको थियो । ७७ वटै जिल्लमा पुगेर ऋषि धमलाले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने मान्छे मै हुँ । युवाहरुलाई जगाउने मान्छे म नै थिएँ ।’
धमलाले ठूला दलका युवा नेताहरुलाई पनि तत्काल नेतृत्वको लागि हस्तक्षेप गर भनेर सुझाव दिएको स्मण गराए । उनले भने,‘पार्टीभित्र हस्तक्षेप गर र नेतृत्व परिवर्तन गर भनेर भन्ने व्यक्ति म हुँ । गगन थापालाई पनि हस्तक्षेप गर भनेको थिएँ। मुुलुक भ्रष्टीकरणतिर गयो, यसलाई रोक भनेर मैले सधैं झक्झकाएको हुँ । युवा विदेश पलायनको विषयमा पनि आवाज उठाएँ, प्रत्येक दिन २५०० मान्छे विदेश जान बाध्य भएको दृश्य एयरपोर्टमा पुगेर देखाएँ, सडकको दुरवस्था देखाएँ । दाउन्नेमा ७ पटक पुगें । १८ घण्टा जाम पर्दा उद्धार गर्ने मान्छे हुँ । देशभरिको सडकको अवस्था देखाएँ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिहरुले कार्यकर्ता पाले, तर विकास भएन भनेर अभियान पनि चलाएँ ।’
उनले आफू ०४६ सालको आन्दोलनमा भाग लिँदा जेल परेको पनि स्मरण गराए । उनले अग्रज पत्रकारहरु रामचन्द्र भट्टराई र जिवेन्द्र सिम्खडाले पत्रकारितामा ल्याएको र पत्रकारितामा आउएर पहिलो जनआन्दोलनमा भाग लिँदा १४ वर्षको उमेरमा प्रहरी हिरासतमा बसेको पनि स्मरण गराए । राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा रिपोर्टर्स क्लबमा नै माघ १९ गतेको ‘कू’ विरुद्धमा माघ २१ गते बहस गरेको पनि उनले बताए । उनले भने,‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र मिडियामाथि भएको आक्रमणको डटेर सामना गरेको छु ।’
धमलाले भदौ २३ गते भएको जेनजी आन्दोलनलाई आफूले नै पहल गरेर सुरक्षित अवतरण (सेफ–ल्याण्डिङ) गराएको दाबी गरे । उनले भने,‘जेनजी आन्दोलनपछि यही क्लबबाट सेफल्याण्डिङ गराएको हुँ । मैले नै पहल गरेको हुँ । संविधान बचाउनको लागि मैले नै पहलकदमी लिएर जेनजी आन्दोलनको अगुवाहरुसँग कुरा गरें, सुधन गुरुङलगायत सबै अगुवाहरुलाई बोलाएर लगातार ७ घण्टा वार्ता गरेको थिएँ, मैले लोकतन्त्र र संविधान बचाएर सहमति खोज्न भनेर मध्यमार्गी धारको लागि सुझाएको थिएँ ।’
धमलाले साँढे तीन दशक लामो सक्रिय पत्रकारिताबाट विदा भएर आफू पूर्ण रूपमा सक्रिय राजनीतिमा हामेमिएको भन्दै बाँकी जीवन अब देश र जनताको सेवामा समर्पण गर्ने घोषणा गरे । उनले भने,‘मेरो उद्देश्य भनेको देश बनाउने हो । देशलाई बदल्ने हो । नेपाली जनताको आँखाको आँशु पुछ्ने हो । युवाहरुलाई रोजगारी दिने हो । निःशुल्क शिक्षा र स्वास्थ्य एक्लै भएपनि अभियानको रुपमा अघि बढाउँछु । यो देशको गरिवका छोराछोरीले पढ्न पाएका छैनन् । पहुँच पुगेको छैन। त्यसैले मैले निःशुल्क गुणस्तरीय शिक्षाको एजेण्डा मुख्य बनाएको छु ।’




प्रतिक्रिया