काठमाडौं, १ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूसँगको भेटमा प्रधानमन्त्री सुशीला कार्कीले देश पश्चिमाले सकेको र नारायणहिटीमा राजा नै सुहाउँदोरहेछ भनेर भनेको खुलासा गरेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सुशीला कार्की त के भन्नुहुन्छ भने दुर्गा बाबु, नारायणहिटीमा राजा नै सुहाउँदोरहेछ, देश पश्चिमाले सके भनेर मसँग भित्री कोठामा भन्नुहुन्थ्यो । मसँगको भेटमा उहाँले देश जोगाउने जिम्मा तपाईंको बाबु भन्नुभयो, म ७४ वर्षको भएँ, यो देश पश्चिमाले खाईसके, म पनि हिन्दूकी छोरी हुँ भनेर दुर्गा माताको मूर्ती ढोकेको होईन ?’ पत्रकारले यो कुरा प्रधानमन्त्रीले तपाईंसँग भनेकै हो त ? के छ प्रमाण ? भनेर प्रश्न गर्दा उनले थपे–‘सुशीला कार्कीलाई दक्षिणकालीमा कालो बोको काटेर पस्न लगाउन, आफ्ना छोरा नातीलाई भाकेर, धर्म गरौं त हो कि होईन भनेर । हामी भएको कुरा गर्छौं । नक्कली कुरा गर्दैनौं ।’
उनले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्यो भनेर भनिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे । उनले राजालाई पूर्व नभन्नसमेत आग्रह गरे । उनले भने,‘राजा कति आवश्यक छ भन्ने कुरा नेपाली जनतालाई थाहा छ ।’
सिंहदरबारमा आगो लगाउने, सर्वोच्च अदालत सिध्याउने, घण्टे पार्टी र देशद्रोहीहरुबाहेक अरु सबैसँग सहकार्य हुने पनि उनको भनाई छ । उनले राजा बोक्नेले राजा बोक्नुपर्ने, देश बोक्नेले देश बोकेर पहिला देश बचाउन आफूले भन्ने गरेको खुलासा गरे ।




प्रतिक्रिया