काठमाडौं, २ फागुन । नेकपा (एमाले) का उपमहासचिव तथा कैलाली–४ का उम्मेदवार लेखराज भट्टले जनताको बीचमा जाँदा सबैको साथ पाउनेमा विश्वस्त रहेको बताएका छन् । तर, जनताको गुनासो समय समयमा भेटघाट भएन भन्ने गुनासो रहेको उनले खुलासा गरे । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले आफूलाई योपटक जनताले जिताउने कुरामा विश्वस्त रहेको सुनाए ।
भदौ २३ र भदौ २४ गतेको घटनाको यथार्थ बाहिर आउनुपर्ने भन्दै जाँचबुझ आयोगको प्रतिवेदन तत्काल बाहिर ल्याउनुपर्ने उनको माग छ । तर, आयोगको म्याद पटक पटक थपिएकोमा उनले प्रश्न उठाए । उनले भने,‘अहिले त यो आयोगप्रति शंका थपिएको छ, प्रश्न उठेको छ । यो आयोगलाई सुरुमा म्याण्डेट के थियो भने एक महिनाभित्रै छानबिन गरेर निश्पक्ष रुपमा प्रतिवेदन ल्याउनुपर्छ भन्ने थियो । आयोगले पहिल्यै नै यो हो उ हो भनेर, यसको प्रमुखले भन्दाखेरि आशंका थियो । अहिले पनि त्यो आशंका कायम छ ।’
सो क्रममा उनले रास्वपा नयाँ भनेर आएपनि त्यसले केही नगर्ने टिप्पणी गरे । नयाँ भनिएकाहरुसँग विचार र दर्शन केही पनि नभएको उनको आरोप छ । आफूले आफ्नो क्षेत्रको विकासको लागि सधैं महत्वपूर्ण योगदान पुर्र्याएको भन्दै अब पनि शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधारको विकासमा जोड दिने उनको प्रतिबद्धता छ ।




प्रतिक्रिया