कुलमानको दाबी : म छोटो समयमा देशलाई डेलिभरी दिएर सरकारबाट बाहिर आएको हुँ


काठमाडौं, २ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा निवर्तमान उर्जामन्त्री कुलमान घिसिङले छोटो समयमा सरकारमा बस्दा डेलिभरी दिएर बाहिर निस्किएको दाबी गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा कुलमान भौतिक पूर्वाधार, सहरी विकास र उर्जा मन्त्रालयको नेतृत्वमा थिए । उनलाई प्रधानमन्त्री कार्कीले नै रोजेर सरकारमा ल्याएको चर्चा छ । २१ फागुनको निर्वाचनमा काठमाडौं–३ बाट चुनावी प्रतिष्पर्धामा रहेका कुलमानले आफू चुनावको सबै वातावरण बनाएर र जनतालाई डेलिभरी दिएरमात्रै सरकारबाट बाहिरिएको दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सङ्कटको बेलामा जिम्मेवारी लिएर मैले तीन महिनामा डेलिभरी दिए, चुनावको वातावरण बनाएर बाहिर आएका छौँ। मैले चुनाव गर्न बनेको सरकार आउँदिन पनि भनेको थिएँ, तर प्रधानमन्त्रीले चुनावको बेलामा जानुस् भन्नुभएको थियो। अहिले धेरैले भगौडा मन्त्री भनेर लेख्छन्, छोटो समयमा देशलाई डेलिभरी दिएर सरकारबाट बाहिर आएको हुँ।’ file photo