अबुजा, ३ फागुन । नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र मालवाहक ट्रकबीच भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। उक्त दुर्घटना एनुगु–पोर्ट हरकोर्ट सडकखण्डमा भएको जनाइएको छ।
प्रहरीका अनुसार दुवै सवारी साधन विपरीत दिशाबाट आउँदै गर्दा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो। घटनामा करिब ३६ जना यात्रु संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतकका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सुरक्षित राखिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि सुरक्षाकर्मीको सक्रियतामा यातायात पुनः सञ्चालनमा ल्याइएको छ।
नाइजेरियामा सडक दुर्घटनाका घटनाहरू प्रायः तीव्र गति, सवारीको खराब अवस्था र चालकको लापरबाहीका कारण हुने गरेको अधिकारीहरूले बताएका छन्। रासस




प्रतिक्रिया