उनेपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक : सांसदको संख्या २०१ र संघमा जम्मा १५ मन्त्रालय राखिनुपर्ने एजेण्डा


काठमाडौं, ३ फागुन । उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उनेपाले संविधान संशोधनको सवालमा भने नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरुद्ध उजुरी दिने र जवाफदेहिता खोज्ने हक संविधानमा मौलिक हकको रुपमा स्थापित गरिने कुरा उल्लेख गरेको छ ।

यस्तै, सांसद्को संख्या घटाउने कुरा पनि उसले आफ्नो चुनावी प्रतिबद्धतामा उल्लेख गरेको छ । अहिले कायम रहेको २७५ बाट २०१ ज्नाको सांसद संख्या कायम गरिनुपर्ने भनेको छ । यस्तै प्रदेशसभाको सदस्य संख्या पनि कटौती गरी ५५० बाट ३३० कायम गर्नको लागि प्रस्ताव गरिने कुरा उसले उल्ल्ेख गरेको छ ।

यस्तै, मन्त्रालय संख्या घटाउनेपनि उसले प्रमुख एजेण्डा बोकेको छ । संघमा जम्मा १५ मन्त्रालय र प्रदेशमा ५ देखि ७ वटा मन्त्रालयमा सिमित गरी मन्त्रिमण्डलमा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्थाको लागि पहल गरिने कुरा पनि भनिएको छ । प्रदेश सरकारको स्थायित्वको लागि प्रदेशका मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गरिने भनिएको छ ।

यस्तै, भ्रष्टाचारविरुद्धको अभियान चलाउने भन्दै भ्रष्टाचारीर्ला आजीवन प्रतिबन्ध लगाउनुपर्ने भनिएको छ । भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउनुको साथै निजको सम्पत्ति राष्ट्रियकरण गरिने उसको प्रतिबद्धता छ ।