काठमाडौं, फागु ४ । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या भएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । सिरहाको सुखिपुर नगरपालिका ६ बैशाखा घर भएका यादवलाई आइतबार राति ८ बजेतिर मलङ्गवा नगरपालिका १० देबीटोलस्थित डेरामा गोली प्रहार भएको हो ।
छातीमा गोली लागेर अचेत भएका यादवलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले प्रारम्भिक सूचना अनुसार इन्जिनियर यादवलाई फोन गरी डेरा बाहिर बोलाएर गोली प्रहार गरिएको छ ।
घटना लगत्तै मलङ्गवाको चारै दिशामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर गोली प्रहार गर्ने मानिसको खोजी भइरहेको सिडिओ कडरियाले बताए । गोली प्रहारपछि इन्जिनियर यादवको हत्या भएपछि नेपाल–भारत सीमा क्षेत्रमा समेत कडाइ गरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मृतक इन्जिनियर यादवको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । इन्जिनियर यादव श्रीमतीसहित कोठा भाडामा लिएर मलङ्गवामा बस्दै आएका थिए ।




प्रतिक्रिया