किएभ, ४ फागुन । युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्कोलाई उच्च प्रोफाइल मनी लन्ड्रिङ अनुसन्धानमा सोमबार औपचारिक रूपमा संदिग्धका रूपमा नाम दिइएको छ ।
यस घोषणा गर्नुअघि उनलाई युक्रेन छोड्ने प्रयास गर्ने क्रममा कानून कार्यान्वयन निकायले हिरासतमा लिएको थियो । यो घटना गत वर्षको ऊर्जा क्षेत्रमा भएको भ्रष्टाचार काण्डको पछिल्लो घटनाक्रम हो, जसले सरकारलाई ठूलो चुनौती दिएको थियो ।
युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरोद्वारा जारी विज्ञप्तिअनुसार, गलुशेन्कोलमाथि मनी लन्ड्रिङ र आपराधिक सङ्गठनमा संलग्नताको आरोप लागेको छ । यद्यपि विज्ञप्तिमा नाम स्पष्ट उल्लेख नगरिए पनि उनले सन् २०२१ देखि २०२५ सम्म देशको ऊर्जा मन्त्रीका रूपमा काम गरेको थियो । युक्रेनको फौजदारी कानूनअनुसार यस्ता अभियोगमा १५ वर्षसम्म जेल सजाय हुन सक्छ ।
अनुसन्धानकर्ताहरूले नोभेम्बरमा ऊर्जा पूर्वाधारको सुरक्षा कार्यका लागि ठेकेदारहरूबाट एक करोड डलरभन्दा बढी किकब्याक ( अवैध वा अनधिकृत रूपमा फाइदा लिनको लागि रकम वा सुविधा फिर्ता पाउने प्रक्रिया) योजनामा गलुशेन्को संलग्न रहेको आरोप लगाएका थिए । थप रूपमा, उनका परिवारसँग सम्बन्धित बैंक खातामा करिब एक करोड २० लाख डलर फेला परेको विवरण पनि प्रस्तुत गरिएको छ । गलुशेन्कोले अदालतमा आफ्नो बचाउ गर्ने वाचा गरेको छ ।
गलुशेन्को युक्रेनको उच्च राजनीतिक व्यक्तित्वमध्ये एक थिए जसले घोटालाको पृष्ठभूमिमा राजीनामा दिए । अनुसन्धानकर्ताहरूले यस योजनामा राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका नजिकका सहयोगीहरू पनि संलग्न भएको आरोप लगाएका छन् । जेलेन्स्की सन् २०१९ मा भ्रष्टाचार उन्मूलन गर्ने वाचा गर्दै सत्तामा आएको थियो र केही सुधारहरू पारित गरिए पनि रक्षा मन्त्रालयभित्र समेत ठूला भ्रष्टाचार घोटालाहरूको सामना गर्नुपरेको थियो ।
युरोपेली सङ्घ (इयु) ले युक्रेनलाई सदस्यता दिनुअघि भ्रष्टाचार हटाउन व्यापक सुधारहरू गर्नुपर्ने माग गर्दै आएको छ । गलुशेन्कोमाथिको अनुसन्धानले युक्रेनमा राजनीतिक र प्रशासनिक पारदर्शिताको चुनौतीलाई फेरि उजागर गरेको छ । रासस




प्रतिक्रिया