इस्लामावाद, ५ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सुरक्षा चेक पेष्टमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा ११ जना सुरक्षाकर्मी र १२ जना आतङ्कवादीकोे मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ ।
आतङ्ककारीहरूले बाजौर जिल्लामा सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरूको संयुक्त चेकपोष्टमा आक्रमण गर्ने प्रयास गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत जनाएको छ ।
आक्रमणकारीहरूले चेकपोस्टको सुरक्षा उल्लङ्घन गर्ने प्रयास गरेता पनि सुरक्षाकर्मीहरूले द्रुत र प्रभावकारी रूपमा गरेको जवाफी कारवाहिमा १२ जना आतङ्ककारीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आक्रमण पछि विस्फोटक पदार्थले भरिएको गाडी चेकपोस्टको पर्खालमा ठोक्किएर शक्तिशाली विस्फोट हुँदा चेकपोष्टको केही भाग क्षेतिग्रस्त भएको आइएसपिआरले जनाएको छ ।
विष्फोटको कारण ११ जना सुरक्षाकर्मीको मृत्यु भएको जनाउदै नजिकैको आवासीय भवनहरू पनि क्षतिग्रस्त हुँदा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य सात जना सर्वसाधारण घाइते भएको जनाइएको छ ।
सुरक्षा बलले बाँकी आतङ्ककारीहरूलाई नष्ट गर्ने अभियान सुरु गरेको आइएसपिआरले जनाएको छ । रासस




प्रतिक्रिया