पूर्वराजा शाहको भिडिओ सन्देश : विद्यमान समस्या समाधान नगरी निर्वाचनमा जानु उपयुक्त हुँदैन


काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भिडिओ सन्देश जारी गरेका छन् । उनले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको भन्दै पहिला मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गर्नुपर्ने मत राखेका छन् । शाहले प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको भन्दै पहिलो राष्ट्रिय समस्याको समाधान गरिनुपर्ने मत राखेका छन् ।

उनले भनेका छन्,‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि । यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ, मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो । वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने दुखद् परिस्थितिमा आलोपालो भाग लगाएर खाऔं भन्ने सोचले हैन मिलेर जाऔं भन्ने सोचेले मुलुकलाई नयाँ गति दिन सकिन्छ, यतिखेरको आम जनभावना यही छ कि पहिला मुलुकका गम्भीर राष्ट्रिय समस्याको समाधान गरियोस् र त्यसपछि मात्र निर्वाचन प्रक्रियातर्फ अघि बढियोस् ।’

शाहले यतिवेला आम नेपालीले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति गरेको पनि टिप्पणी गरे ।