काठमाडौं, ७ फागुन । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तथा सल्यानबाट प्रतिनिधिसभाका उम्मेदवार रमेश मल्लले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले ‘समृद्ध सल्यान, हाम्रो अभियान’ नारामा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उनले नीतिगत प्रतिबद्धतामा जनक्रान्तिको बलमा जननिर्वाचित संविधान सभाको प्रक्रियाबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता लगायत संवैधानिक मूल्य मान्यताहरू आत्मसाथ गर्दै राजनीतिक स्थायित्व र सुशासन लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने बिषयमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
मल्लले देशमा राजनीतिक परिवर्तन र सुशासनका पक्षमा भएका सबै प्रकारका जनक्रान्ति र आन्दोलनमा अभिव्यक्त भएको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै महान सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान र घाइते योद्धाहरूको स्वास्थ्य उपचार तथा राज्यबाट राहत र सहयोग उपलब्ध गराउनेबारे पनि प्रतिबद्धता व्यक्त गरेका छन्।
जेनजी आन्दोलनमार्फत् उठाइएका भ्रष्टाचार, अनियमितता तथा बेरोजगारीजस्ता समस्याहरूको समाधानको लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, राजनीतिक स्थायित्व र शान्ति÷सुरक्षा कायम गर्दै युवा स्वरोजगार तथा उद्यमशीलतामार्फत् उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने कुरामा आफूहरु प्रतिबद्ध रहेको उनको भनाई छ ।
समृद्ध सल्यान, हाम्रो अभियान
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ नेपाली कम्युनिष्ट पार्टी, सल्यानको प्रतिबद्धता
१. नीतिगत प्रतिबद्धता :
१.१. जनक्रान्तिको बलमा जननिर्वाचित संविधान सभाको प्रक्रियाबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता लगायत संवैधानिक मूल्य मान्यताहरू आत्मसाथ गर्दै राजनीतिक स्थायित्व र सुशासन लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ।
१.२. देशमा राजनीतिक परिवर्तन र सुशासनका पक्षमा भएका सबै प्रकारका जनक्रान्ति र आन्दोलनमा अभिव्यक्त भएको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै महान सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान र घाइते योद्धाहरूको स्वास्थ्य उपचार तथा राज्यबाट राहत र सहयोग उपलब्ध गराउनेबारे हामी प्रतिबद्ध छौँ।
१.३. जेनजी (नवयुवा) आन्दोलनमार्फत् उठाइएका भ्रष्टाचार, अनियमितता तथा बेरोजगारीजस्ता समस्याहरूको समाधानको लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, राजनीतिक स्थायित्व र शान्ति-सुरक्षा कायम गर्दै युवा स्वरोजगार तथा उद्यमशीलतामार्फत् उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
१.४. पर्यावरणमैत्री विकासलाई आत्मसाथ गर्दै वन पैदावार र वन्यजन्तु सम्बन्धी कानूनहरूलाई विकासमैत्री र व्यावहारिक बनाउन प्रचलित ऐन, कानून र नियमावलीहरू संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ।
१.५. सल्यान जिल्लाबाट यसअघि संघ र प्रदेशमा प्रतिनिधित्व गरिसक्नुभएका जनप्रतिनिधिहरूले शुरू गरेका जिल्लास्तरका रणनीतिक तथा निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिनुका साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वयमा मात्र जिल्लाको विकास र समृद्धिको अभियान सफल हुन्छ भन्ने कुरामा हामी पूर्ण प्रतिबद्ध छौँ। साथै संघीय निजामती ऐनको अन्योलले पैदा गरेको कर्मचारी समायोजन, अन्तरप्रदेश सरूवा तथा अन्तरतह बढुवा लगायतका सेवा सुविधाको लागि पहल गर्न हामी प्रतिबद्ध छौँ।
२. भौतिक पूर्वाधारको क्षेत्रमा हाम्रो प्राथमिकता :
२.१. यथाशीघ्र राप्ती लोकमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग, लुम्बिनी-रारा लोकमार्ग, जिल्ला पर्यटकीय चक्रपथ सल्यान (DTRRS), खलङ्गा-मार्के-कालिमाटी रामपुर-घुइयाबारी-खर्कबार-कोहलपुर निर्वाचन क्षेत्र रणनीतिक सडक, प्रदेश राजधानी सुर्खेत जोड्ने लोकमार्गहरू, प्रादेशिक रणनीतिक सडकहरू, अन्तर प्रदेश तथा अन्तर जिल्ला जोड्ने प्रदेश सडकमार्गहरूको पूर्णता र स्तरोन्नति हाम्रो मुख्य प्राथमिकता रहनेछ।
२.२. जिल्लाभित्रका सबै पालिका र वडा कार्यालयहरूसम्म पक्की सडक, आवश्यकताको आधारमा झोलुङ्गे पुल निर्माणका साथै सबै टोल, बस्तीमा यातायात सेवा पुर्याउने योजनामा हामी पूर्ण प्रतिबद्ध छौँ।
२.३. कतिपय बस्तीहरूमा अहिले पनि गुणस्तरीय सञ्चार सुविधा नपुगेको अवस्थालाई ध्यान दिदै आवश्यक टेलिफोन टावर र पूर्वाधारको व्यवस्था गरि २ वर्ष भित्र सबै घरमा गुणस्तरीय सञ्चार सुविधा पुर्याउन पहल गरिनेछ।
२.४. सार्वजनिक सेवा प्रवाह हुने जिल्लाका सम्पूर्ण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवाको सुनिश्चितता गरिनेछ। डिजिटल साक्षरताको विस्तार र सार्वजनिक सञ्चारका माध्यमहरूलाई व्यवस्थित गरिनेछ।
३. पर्यटन क्षेत्रको विकास र प्रवर्धन :
३.१. जिल्लाको समग्र “पर्यटन गुरूयोजना” निर्माण गरि ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि, शैक्षिक र युद्ध पर्यटनजस्ता क्षेत्रको एकीकृत आयोजना निर्माण तथा कार्यान्वयनले मात्र जिल्लाको पर्यटन क्षेत्रको विकास सम्भव छ भन्ने बिषयमा हामी पूर्ण प्रतिबद्ध छौँ।
३.२. मुख्यगरी जिल्लाका पर्यटकीय गन्तव्यहरू कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, शंखमूल, लक्ष्मीपुर शिव मन्दिर, फालाबाङ पुतली दरबार, र्याले पौवा लगायतका पर्यटकीय गन्तव्यहरूको पूर्वाधार संरक्षण र प्रवर्धन गर्दै क्रमश: कुमाख, निगालचुला, जथाक लेक (पाथिभरा), सुकिदह, कछुवा दह, मालिका लेक, बामे लेक, कालीमाटीको गंगामाला देउतीबज्यै मन्दिर, त्रिवेणीको तीर्थशाला धाम, शिद्धगुफा, देवस्थल कृष्ण मन्दिर, मालिका-कालिका, कोटमौला कालिका मन्दिर, बडागाउँ नाउला दरबार, लखिमपुर, रिमको शिवगुफा, ब्याउलाब्याउली ढुङ्गा, शिव पाइला, सातामुल लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा केही नयाँ ट्रेकिङ रूट र नयाँ पर्यटकीय गन्तव्यको निर्माण र प्रवर्धनमा हाम्रो प्राथमिकता रहने छ।
३.३. बनगारी टप्पा, सेरिङ्गे, लोकदोहरी, लोकभाका, ठारीभाका, सोरठी, पैसेरी, झाप्रे, झ्याङ जस्ता लोकसंस्कृति तथा स्थानीय मेला-जात्रालाई संरक्षण तथा सम्बर्धन गर्न जिल्लाका राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार समेतको सहभागितामा “सल्यान सांस्कृतिक प्रतिष्ठान” स्थापना गरि सहभागितामूलक संस्कृतिको विकास र जगेर्ना गर्ने हाम्रो साझा सङ्कल्प हुनेछ।
३.४. आन्तरिक पर्यटन प्रवर्धन, होमस्टे, स्वस्थ र अर्गानिक खानामार्फत् जनस्वास्थ्य र जीवनस्तरमा सुधार, वार्षिक पर्यटन महोत्सव, नेवार तथा मगर जातिको स्थानीय भाषाका साथै सल्यानको ठेट नेपाली भाषाको संरक्षण र सम्वर्धनका लागि अध्ययन, अनुसन्धान गर्न पहल गरिनेछ।
४. शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको गुणस्तर वृद्धिमा हाम्रो जोड :
४.१. संघीय शिक्षा ऐन पारित गर्न पहल गर्नु, जिल्लामा आंगिक क्याम्पस तथा कृषि क्याम्पस स्थापनाको पहल गर्नु, विद्यालयहरूमा डिजिटल सिकाइ प्रणाली अनिवार्य गर्नु, पढ्दै कमाउँदै कार्यक्रमका साथै प्राविधिक तथा सीपमूलक शैक्षिक कार्यक्रमहरू थप गर्दै जानु हाम्रो शैक्षिक कार्यभार हुनेछ।
४.२. क्याम्पस र विद्यालयहरूमा भौतिक पूर्वाधारको निर्माण, आवश्यक दरबन्दीको व्यवस्थापन, प्राविधिक धारका शैक्षिक कार्यक्रमहरूको विस्तार र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, सतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना जस्ता कार्यमा विशेष जोड दिइनेछ।
४.३. बसाइँसराइ र विद्यार्थीहरूको आवश्यकतालाई ध्यान दिई शिक्षण संस्थाहरूको स्थानान्तरण वा समायोजन तथा क्याम्पस र विद्यालयहरूमा शैक्षिक कार्यक्रम एवम् संकाय संशोधन गरेर समयसापेक्ष र व्यावहारिक बनाइने छ। प्रारम्भिक तहको आधारभूत शिक्षा जन्मथलोमै आमाको काखमा हुर्किदै लिने व्यवस्था गराउन पहल गरिनेछ।
४.४. जिल्लाको प्राकृतिक सम्पदा र उत्पादनमा आधारित उद्यमशीलता तथा उद्योगहरू स्थापना एवम् सञ्चालन गर्न आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक धारका सीपमूलक जनशक्ति उत्पादनमा हाम्रो जोड हुनेछ।
४.५. सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवनलाई सम्पन्न गर्न प्रभावकारी कदम चालिनेछ। तत्काल जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्याको क्षमतामा विकास गर्ने र क्रमश: १०० शैय्यामा स्तरोन्नति गर्न पहल गरिनेछ। सबै पालिकाहरूमा १५ शैय्याको अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा सञ्चालन गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिनेछ।
४.६. सल्यानका सबै नागरिकमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, सूचीकृत रोगहरूको निःशुल्क उपचार गर्ने, बिशेषज्ञ डाक्टर सेवासहित घुम्ती सेवा, दुर्गम क्षेत्रमा टेलिमेडिसन सेवा, सुरक्षित मातृत्त्व कार्यक्रम लगायत महिला, जेष्ठ नागरिक र बालबालिका लक्षित स्वास्थ्य कार्यक्रमहरू प्रभावकारी बनाउन हामी पूर्ण प्रतिबद्ध छौँ।
४.७. जेष्ठ नागरिक, एकल महिला र अशक्त नागरिकहरूको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू प्रभावकारी बनाउनु हाम्रो कर्तव्य हुनेछ। साथै स्वदेश तथा विदेशमा रोजगारीमा रहेका युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि पहल गरिने छ।
४.८. युवा उद्यमशीलता प्रवर्धनमा विशेष जोड दिइनेछ। युवालाई कृषि, वन, पर्यटन, कला संस्कृतिको संरक्षण र विकास लगायतका क्षेत्रमा सीपमूलक तालिमको व्यवस्था गरि उत्पादन र रोजगार केन्द्रित कार्यक्रममार्फत् वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोजगार बनाउन र स्वरोजगारमा जोड्न पहल गरिनेछ।
४.९. खेलकुदको विकासका लागि जिल्ला स्तरमा रंगशाला, पालिका स्तरमा कभर्ड हल, हरेक वडा, विद्यालय र क्याम्पसहरूमा खेल मैदानको व्यवस्था गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना निर्माण तथा कार्यान्वयनमा प्राथमिकता दिइनेछ। विधागत रूपमा खेलकुद प्रशिक्षकको व्यवस्था गर्न र जिल्लाबाट प्रादेशिक र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न विद्यालय स्तरदेखि नै खेलकुद सम्बन्धी योजना निर्माण र कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ।
५. विद्युत, सिँचाइ र खानेपानीको क्षेत्रमा हाम्रो प्राथमिकता :
५.१. सल्यान जिल्लाको पूर्ण विद्युतीकरणको योजनालाई तिव्रता दिदै विद्युत नपुगेका घरधुरीमा वैकल्पिक ऊर्जाको समेत व्यवस्था गरि दुई वर्ष भित्र सल्यानलाई पूर्ण उज्यालो जिल्ला बनाइनेछ।
५.२. विद्युतीय जोखिम हटाउनको लागि नाङ्गो तार विस्थापन गरि यथाशीघ्र Covered Conductors तथा ABC Cable जडान गर्नुका साथै काठका पोल हटाइनेछ। जिल्लामा उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने विद्युतीय क्षमता वृद्धि गर्न १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण गरिनेछ।
५.३. शारदा-बबई करिडोर र भेरी करिडोरका सबै सिँचाइयोग्य जमिन, फाँट र टारहरूमा सतहगत सिँचाइ र लिफ्ट सिँचाइको माध्यामबाट सिँचाइको व्यवस्था गरिने छ। त्यसैगरि बाढी पहिरोबाट खेतीयोग्य जमिन तथा वस्तीहरू सुरक्षित गर्न व्यवस्थित तटबन्धको योजना निर्माण र कार्यान्वयन गरिनेछ।
५.४. स्वस्थ खानेपानी नपुगेका बस्तीहरूमा पाइपलाइन तथा लिफ्ट खानेपानी योजनामार्फत् खानेपानीको व्यवस्था गर्नुका साथै जीर्ण खानेपानी योजनाहरूको पुन:निर्माण गरिनेछ। साथै जलश्रोत तथा पानीका मुहानहरू संरक्षण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा जोड दिइनेछ।
६. उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगार मुख्य प्राथमिकता :
६.१. सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरि साढे ३ अर्ब बराबरको उत्पादन निर्यात भइरहेको छ। यसका अतिरिक्त स-साना परिमाणमा विभिन्न प्रकारका कृषि तथा वन पैदावार, जडिबुटी पनि निर्यात भइरहेको देखिन्छ। सल्यानको उत्पादनलाई बार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित कार्ययोजना निर्माण गरि कृषि, पशुपालन, वन पैदावार, बागवानी, तरकारी लगायतको क्षेत्रमा सीप, ज्ञान, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी बढाउने योजनामा हाम्रो बिशेष प्राथमिकता रहने छ।
६.२. सल्यान जिल्लाबाट उत्पादित कृषिजन्य तथा वन पैदावार उत्पादन, पशुपालन र पर्यटनमा आधारित उद्यमशीलता, साना उद्योग तथा व्यवसायहरू सञ्चालन गरेर मात्र हामीले युवा स्वरोजगार सिर्जना गर्न तथा आयआर्जनमा वृद्धि गर्न सक्छौँ भन्ने विषयमा हामी स्पष्ट छौँ। साथै स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरणको व्यवस्था गरि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सल्यानी उत्पादनको पहिचान बनाउन पहल गरिनेछ।
६.३. उत्पादित वस्तुहरूको भण्डारणका लागि जिल्लाभित्र आधुनिक शीत भण्डार निर्माण र बजार विस्तार गर्नुका साथै बीउबिजन, मल तथा कृषि सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन निरन्तर पहल गरिनेछ।
६.४. सल्यानका पौराणिक सीपमा आधारित खुकुरी उद्योग, बाँस/निगालोबाट निर्मित वस्तु र तयारी पोशाकलाई आधुनिक प्रविधिमा समायोजन गरी व्यावसायिक बनाउन र राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान एवम् बजारीकरणका लागि आवश्यक पहल गरिनेछ।
६.५. सल्यानको प्राकृतिक सम्पदा (सल्लाको खोटो), रिठा, तेजपात (दालचिनी), समायो लगायतका जडिबुटीको व्यवस्थित उत्पादन, संकलन र बजारीकरणका लागि पहल गरिनेछ।
६.६. जिल्लाका प्रमुख बजार र स्थानीय बजारहरूको आधुनिकीकरण तथा उचित व्यवस्थापनका साथै बसपार्कको व्यवस्था, उद्योग तथा व्यापार/व्यवसायको प्रवर्धनको लागि संघ, प्रदेश र स्थानीय तहमा देखिएको दोहोरो कर प्रणालीको अन्त्य गर्दै करदाता साक्षरता र सेवा बिस्तारमा जोड दिइनेछ।
६.७. लघुवित्त पीडितको विषय हल गर्न पहल गर्नुका साथै आवासविहीनको लागि जनता आवासको कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रमलाई बढाउन पहल गरिनेछ।
६.८. कृषि सहकारी सुदृढीकरण, एक पालिका – एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। उत्पादित वस्तुको अन्तर पालिका व्यापार प्रवर्धनमा जोड दिइनेछ।
आदरणीय सल्यानी आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरू,
सुन्दर र समृद्ध सल्यान निर्माण गर्ने अभियानमा तपाई हाम्रो साझा प्रयास र सहकार्य आवश्यक छ। यी प्रतिबद्धता हाम्रा प्रारम्भिक सङ्कल्प मात्र हुन्। तपाईं हाम्रो जिल्ला र गाउँघरको विकास एवम् समृद्धिका साझा एजेन्डामा केन्द्रित भएर परिणाममुखी काम गर्न तपाईंको अभिमत र हाम्रो नेतृत्वदायी भूमिका आवश्यक छ।
तपाईं हाम्रो साझा प्रतिबद्धता पूरा गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फ योग्य, क्षमतावान् युवा नेता रमेश कुमार मल्ल र समानुपातिकतर्फ महिला नेता शारदा परियार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यस अभियानमा तपाईंहरूको ऐक्यबद्धतासहित चुनाव चिन्ह “तारा”मा मतदान गरि अत्यधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिचालन समिति, सल्यान




प्रतिक्रिया