महोत्तरी, ८ फागुन । मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्री आज पाँचौँ दिन महोत्तरीको जलेश्वर पुग्दैछन् ।
बिहीबार भारतको मधुवनी जिल्लाको फुलहरबाट महोत्तरीको मटिहानी आएका यात्री आज पाँचौँ दिनको रात्रिबासका लागि बिहानैदेखि जलेश्वर आउने क्रम सुरु भएको हो । अहिले जलेश्वरदेखि मटिहानीसम्मै यात्रीको अटुट पङ्ति देखिँदो छ । मटिहानी यात्रीको महोत्तरी जिल्लाको पहिलो रात्रि विश्रामस्थल हो ।
पाँचाँै दिनको विश्रामका लागि आज आफ्नो नगर प्रवेश गरेका यात्रीलाई जलेश्वरवासीले स्वागत गरेका छन् । गत सोमबार सुरु भएको यो यात्राका यात्रीले यसअघि पहिलो दिन धनुषाको हनुमानगढी, दोस्रो र तेस्रो दिनको रात्रिबास भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थथान (फुलहर) मा गरेका थिए ।
बिहीबार महोत्तरी प्रवेश गरेका यात्री अब आउने सोमबारसम्म महोत्तरीको यात्रामा रहने छन् । यसक्रममा आज पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिबासपछि नवौँ दिन फेरि धनुषा प्रवेश गर्नेछन् ।
यसअघि गत सोमबार धनुषाको ठेराकचुरीबाट मिथिलाविहारी (श्रीराम) को प्रतिमा राखिएको डोलीअघि लगाइ सुरु भएको यात्रा जनकपुरस्थित अग्निकुण्ड (सुन्दर सदन) मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोला थपिएर अघि बढेको थियो । आज यात्री जलेश्वरस्थित परिक्रमा पोखरी डिल वरपरको चउरमा पण्डाल लगाएर बास बस्नेछन् ।
यो यात्राको अभिष्ट आरोग्यता, कल्याण र मोक्ष रहने गरेको छ । अघि त्रेता युगमा श्रीराम र सीताजी विवाहपछि त्यतिखेरको मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै गरेको भ्रमणको सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् । श्रीराम र जानकीको पदचाप पछ्याउँदै गरिने यो यात्रामा उनीहरु हिँडेको बाटोको धुलोको स्पर्शले मोक्ष प्राप्त हुने मैथिल विश्वास गर्छन् ।
विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा रखिएको डोली) आइपुगेपछि वरिपरिका बस्तीबाट डोला दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छ । डोलाको आगमनसँगै विश्रामस्थलमा डोला दर्शन गर्ने, भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरुको भोजन, आवास, खानेपानी र प्राथमिक उपचारसहितको सेवाका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध विश्रामस्थलस्थित स्थानीयतह, सामाजिक सङ्घसंस्था र मठमन्दिरले आपसी समन्वयमा गर्छन् ।
नेपाल र भारतमा गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । जसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् । यो परिक्रमा परम्परा १८ औँ सताब्दीमा सुुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् ।
रामसीताका पदचाप पछ्याउँदै उनीहरुकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण बताउँछन् ।
यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीयतह र धार्मिक मठहरुले संयोजन, समन्वय गर्दै आएका छन् ।
फागुन औँसीमा सुरु भएर फागूपूर्णिमाका दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुने माध्यमिकी परिक्रमा मिथिलाको विशिष्ट सांस्कृतिक पर्व मानिन्छ । रासस




प्रतिक्रिया