काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेर सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् । आज (शनिबार) झापा पुगेका ओलीले भद्रपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले रास्वपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता देखिएको टिप्पाी गरे ।
दाङमा एमालेको झण्डा जलाईएको आरोपमा हिजो साँझ एमालेका कार्यकर्ताहरुले राँके जुलुश निकालेका थिए । उता, दाङमा एमालेको झण्डा जलाएकाहरुलाई प्रहरीले पक्राउसमेत गरिसकेको छ । यही सन्दर्भमा ओलीले रास्वपाको आलोचना गरेका हुन् । उनले भने,‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ।’
सो क्रममा उनले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति पनि टिप्पणी गरे । उनले संसद् विघटनसम्बन्धी मुद्दामा साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको बताए । उनले भने,‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो, निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रुपमा अर्थहीन छ । प्रयोजनहीन छ ।’




प्रतिक्रिया