रौतहट, ९ फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं ३ का उम्मेदवार प्रभु साहले गौर नगरपालिकामा देखिएको सामुदायिक तनावप्रति सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।
रौतहटको कटहरियामा आज (शनिबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साहले एक-अर्काको सह-अस्तित्व स्वीकार गर्दै समाज विकासका लागि मिलेर बढ्नुको विकल्प नभएको बताए ।
रौतहटको सबगढा सहितका क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबिच देखिएको धार्मिक तनावले जनजीवन अस्तव्यस्त भएको छ । स्थानीय प्रशासनले कर्फ्यूसमेत जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबिच बढदै गएको तनावले सर्वसधारणको जनजिवन प्रभावित भइरहेका बेला आजपा अध्यक्ष साहले सर्वकल्याण र एकअर्काको सहअस्तित्व स्वीकार गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् ।
‘हामी हिन्दु, मुस्लिम वर्षौँदखि एउटै समाजमा मिलेर बस्दै आएका छौँ । रौतहट सर्वकल्याणको भूमि हो, सबैको सहअस्तित्व स्वीकार्दै मिलेर बढ्नुको विकल्प छैन,’ आजपा अध्यक्ष साहले भने । एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्दै मानव कल्याणका लागि मिलेर बढनुपर्ने समय र अवस्था रहेकोले द्वन्द्व सिर्जना गर्नु समाजको हितविपरीत छ ।
स्थानीय स्तरमा देखिएका द्वन्द्वलाई छलफल, संवाद एवं आपसी सहमतिमा समाधान गर्दै मानवकल्याण एवं विकासका लागि हिन्दु, मुस्लिमसहित सबै धर्मावलम्बीहरू एकजुट हुनु अहिलेको आवश्यकता रहेको आजपा अध्यक्ष साहले बताए ।




प्रतिक्रिया