गण्डकी, ११ फागुन । आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।
उनका अनुुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए। “प्रहरीबाट प्राप्त जानकारी अनुुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्”, उनले भने ।
उक्त बसको चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए । उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
महानगरप्रमुख आचार्यद्वारा दु:ख व्यक्त
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् ।
महानगरप्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाएका १७ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
“राति करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नं को यात्रुवाहक बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु”, उनले भनेका छन् ।
दुर्घटनामा घाइते भएका २४ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदै उनले घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय रहेका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन् । रासस




प्रतिक्रिया