मतदाताको माझमा उम्मेदवार पोखरेल


देउखुरी (दाङ), ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाता भेटघाटमा व्यस्त भएका हुन्।

मत माग्न जाँदा सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको उनको भनाइ छ ।

मतदाता भेटघाटका लागि घोराही–६ लालीगुरास टोलका स्थानीयले उनलाई सडक र सिँचाइको योजनाको काम थालनी भएकोमा धन्यवाद दिँदै बाँकी सडक ग्राभेल र कल्र्भट निर्माण गर्न माग गरेका छन् ।

एमाले वडा कमिटी अध्यक्ष मोहन खड्काले एमालेको नेतृत्वमा वडामा गत वर्ष २० करोड बढीका योजना पार्न सफल भएको भन्दै यो वर्ष १७ करोड बढीको योजना सङ्घ, प्रदेश र स्थानीय सरकारबाट पारेको दाबी गरे । मतदाता भेटघाटका लागि वडा नम्बर ४ र ७ मा पुगेको एमाले प्रचार टोलीसँग स्थानीयले चुनावका बेला गरिने वाचामा भन्दा यसअघि दलहरूले गरेको विकासका काम हेरेर मत दिने बताएका छन् ।

हिजोका दिनमा सर्रादेखि वर्षातमा हातमा चप्पल र काँधमा साइकिल बोकेर हिँड्नुप¥यो घोराही–७ का क्रिमलाल चौधरीले भने । एमाले नेतृत्वको सरकारले बजेट हालेपछि अहिले सडक कालोपत्रे भएको छ । पुरानाले केही गरेनन् भन्ने भ्रम चिर्न सिङ्गो गाउँ नै लागि परेको उनको भनाइ छ ।

महासचिव पोखरेलले टोलटोल बस्तीबस्ती, विभिन्न जातीय समुदाय, धार्मिक संस्था, किशानका घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । रासस