महिला हकहित र जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ : कांग्रेस उपसभापति भुषाल


काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले महिला हकहित र जेन-जीको आवाज संसदमा पुर्याउन पार्टीले नानू बास्तोलालाई उम्मेदवार बनाएको बताएकी छिन् ।

काठमाडौँ क्षेत्र नम्बर ९ की कांग्रेस उम्मेदवार बास्तोलाको प्रचारप्रसारका क्रममा उनले महिला हित र जेन-जीको आवाज पुर्याउन नानू नै उपयुक्त उम्मेदवार भएको बताइन् ।

उनले भनिन्, “बेरोजगारी, हिंसा र विभेदलाई घटाउँदै महिला दिदीबहिनीहरूको श्रमलाई राष्ट्रिय आयसँग जोड्न र बलियो अर्थतन्त्र बनाउने नीति कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा ल्याएको छ । कांग्रेस एक्लै चुनाव लड्ने र निर्णायक ठाउँमा महिला उम्मेदवारहरू बढीभन्दा बढी उठाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो क्षेत्रमा नानू बास्तोलाको जित सुनिश्चित भएको हुँदा उहाँ एक विकासप्रेमी लोकप्रिय र सुशासनको पक्षधर नेता भएकाले अग्रिम शुभकामना व्यक्त गर्दछु ।”

उपसभापति भुषालले जेन-जी पुस्ताले राखेका सबै माग जायज भएको तर उनीहरूको नामबाट भदौ २४ गते भएको विध्वंश भने सधैँ निन्दायोग्य रहेकोसमेत बताइन् ।

उनले निर्वाचन पश्चात् कांग्रेसले सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणसँगै ध्वस्त संरचना पुनःनिर्माण गर्ने पूर्ण प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् ।

उनले महिला दिदीबहिनीहरूलाई आह्वान गर्दै भनिन्,”दिदीबहिनीहरूले त्यो ध्वस्त संरचनाको खरानीको टीका आफ्नो निधारमा टाँसी हामी द्वन्द्व होइन शान्ति र सुशासनको पक्षमा छौँ भन्दै नेपाली कांग्रेसको प्रचारप्रसारमा लाग्न अनुरोध गर्दछु।”