सर्वेक्षणका नाममा जनमत प्रभावित पार्ने प्रयास भएको भन्दै एमालेको आपत्ति


काठमाडौं, १३ फागुन । नेकपा (एमाले) ले मत सर्वेक्षणको नाममा जनमत प्रभावित पार्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ । एमालेको प्रचार विभागले पत्रकार सम्मेलनमार्फत निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको संवेदनशील अवस्थामा ‘मत सर्वेक्षण’का नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको टिप्पणी गरेको हो ।

सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुने एमालेको निश्कर्ष छ । एमालेले जारी गरेको वक्तव्यमा भनिएको छ,‘यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ । निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्यमले प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता, उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गर्दछौँ । अतः यो संगीन घडीमा सन्तुलित तथ्यपरक सामग्री प्रस्तुत गरी मुलुक र जनताप्रति उत्तरदायी, जवाफदेही हुन सबै सरोकारवाला पक्षहरूलाई एमाले आह्वान गर्दछ ।’

एआई प्रविधि प्रयोग गरी तयार गरिएका ‘डिपफेक’ भिडियो, भ्रामक अडियो तथा बनावटी समाचार सामग्रीहरू प्रसारित गरेर मतदातालाई भ्रमित गर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूको छवि धूमिल पार्ने प्रयास अत्यन्त निन्दनीय भएको पनि एमालेको ठहर छ । एमालेले भनेको छ,‘यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रिया, सार्वजनिक विश्वास र सामाजिक एकतालाई कमजोर बनाउँदै लगेको ठहर एमालेले गरेको छ । हामी सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको जिम्मेवार बनी विवेकपूर्ण र सही प्रयोग गर्न आह्वान गर्दछौँ । सत्य र तथ्यमा आधारित स्वस्थ प्रतिस्पर्धा नै लोकतन्त्रको आधार हो । सम्बन्धित नियामक निकायलाई पनि आवश्यक निगरानी र कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँछौँ । त्यसका साथै आचारसंहिताविपरीत भौतिक सामग्री, चाडपर्वको मौका पारेर अमूक पार्टी नेताको रङ्गिन टिसर्ट वितरणजस्ता कार्य रोक्न निर्वाचन आयोगलाई पुनः सचेत गराउँछौं ।’