सेटिङका आधारमा प्रक्षेपण गरिएका छन्, एमालेलाई कमजोर बनाउने प्रक्षेपण फेल खान्छन् : विष्णु पौडेल


रुपन्देही, १५ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सन्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरूले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् । बुटवलमा प्रेस चौतारी निकट पत्रकारसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा योजनावद्ध रूपमा आएका प्रक्षेपण वास्तविक नभएको र वास्तविक प्रक्षेपण केही दिनमा आउने दाबी गरेका हुन् ।

‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् तर ती वास्तविक र तथ्यपरक होइनन्, फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपणहरू फेल खानेछन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्ने छ भन्ने माइन्डसेड गरेर बसेका छन्, जनताको त्यो मानसिकता परिवर्तन गर्न निकै कठिन छ’ उपाध्यक्ष पौडेलले भने– त्यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला तर भरपर्दाे राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरू छैनन् ।’

प्रतिस्पर्धी दल तथा उम्मेदार कसैको आलोचना नगरी उहाँले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको मियो भएकाले ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने बताए । उपाध्यक्ष पौडेलले पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहित पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे ।

उनले भने–‘निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वास छ । एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको अवस्था छ ।
रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवार रहेका उपाध्यक्ष पौडेलले विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि जनताको विश्वास रहेको बताउनुभयो । पूर्वअर्थमन्त्री पौडेलले जतिसुकै षडयन्त्रको हल्ला गरे पनि जनताले योजना र विगतका अनुभवका आधारमा आफ्नो प्रतिनिधि छान्ने विश्वास व्यक्त गर्नुभयो ।’

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नं. २ मात्र होइन, पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने बताउनुभयो । उहाँले भन्नुभयो– विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं. ४ केही कमजोर देखिन्थ्यो तर अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकाले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठूलो शक्तिको रूपमा पुन उदय हुँदै छ ।

‘एमालेले केबल चुनाव जित्नका लागि मात्र नभएर रुपन्देही र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमुना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्,’ उपाध्यक्ष पौडेलले भने ।

उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए । उपाध्यक्ष पौडेलले रुपन्देहीमा सञ्चालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए ।