यस्तो छ मोरङ-४ मा चुनावी प्रतिष्पर्धा


बेलबारी (मोरङ(, १५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रतिष्पर्धा रोचक हुने देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र दुई पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमनलाल मोदीसहितका उम्मेदवार छन् ।

विगतका दुुईवटा निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेर जितेको नेकपा (माओवादी केन्द्र) यस पटक नेपाली कम्युनिष्ट पार्टीको नामबाट एकल रुपमा प्रतिस्पर्धामा होमिएको छ । हालै कांग्रेसका महामन्त्री बनेका गुरूराज घिमिरे पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट माओवादीका अमनलाल मोदी ३० हजार ६१२ मतसहित विजयी भएको थियो । समानुपातिकतर्फ भने सबैभन्दा बढी नेपाली कांग्रेसले १९ हजार ५५५ मत पाएको थियो । तत्कालीन समयमा एमालेले १८ हजार ३८६ मत पाउँदा माओवादी केन्द्रले नौ हजार ७६० मत ल्याएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार २७० मत ल्याएको थियो । यस पटक केही नयाँ दलसहित नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन् । यो क्षेत्रमा एक लाख १९ हजार २५५ मतदाता छन् भने यस पटक नौ हजार ७८ जना मतदाता थपिएका छन् । विसं २०७९ र २०७४ को निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनमै निर्वाचित मोदी यो पटक पनि जित आफ्नै पक्षमा आउनेमा ढुक्क रहेको बताउँछन् ।

विगतको निर्वाचनमा नेपाली कांग्रेसको लोकप्रिय मत भएकाले यस पटक जित सहज हुने विराटनगरका मतदाता लीलाप्रसाद काफ्ले बताउँछन् । एमालेबाट पूर्वप्रदेशमन्त्री जीवन घिमिरे चुनावी मैदानमा छन् । पार्टी सङ्गठन र आफ्नो अनुभवले जित आफ्नो पक्षमा आउने विश्वास घिमिरे बताउँछन् ।

पुराना दलहरूले विकास, निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेका कारण जनता परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टीकोका उम्मेदवार सन्तोष राजवंशी बताउँछन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युुनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मोरङ ४ मा उम्मेदवार चुनावी प्रचारप्रसारका क्रममा मतदातासँगै छन् । रासस