काठमाडौं, फागुन १६ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पाको लिबाङबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा नेपाली राजनीतिको निर्णायक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका प्रचण्डले जनयुद्धको बेला अधिकांश समय बिताएका ठाउँ हो ।
नेपाली कम्युनिष्ट पार्टीले आज रोल्पा सदरमुकाम लिबाङ टुँडिखेलमा आयोजना गर्ने चुनावी सभालाई पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डका विश्वासपात्र मानिएका वर्षमान पुन लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजको सभामार्फत प्रचण्डले यो निर्वाचनको लागि आफ्नो र पार्टीको तर्फबाट राजनीतिक संदेशसहित चुनावी अपिल गर्नेछन् । पछिल्लो समय उठेका चुनावी गठबन्धन तथा तालमेलका हल्लाबारे समेत प्रचण्डले यही चुनावी सभाबाटै आफ्नो धारणा व्यक्त गर्ने बुझिएको छ ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका प्रचण्डले दशवर्षे जनयुद्धको थालनी भएको रोल्पाबाट के सन्देश दिन्छन् भन्ने कुरालाई चासोपूर्वक हेरिएको छ । यसपटकको निर्वाचनमा नेकपाले ठूला ठूला चुनावी आम सभा नगर्ने भएको छ ।
२० हजार भन्दा बढिको सहभागिता रहने जनाईएको आजको सभामा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।




प्रतिक्रिया