नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण


काठमाडौं, १७ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् ।

इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् ।

“यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो”, संयोजक दाहालले भनेका छन् “विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन आग्रह गर्दछु ।”

यस्तै पूर्वसभामुख देवराज घिमिरेले द्वन्द्वग्रस्त देशमा रहेका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन गर्न, आवश्यक परे आपत्कालीन सहायता तथा उद्धार तयारी अवस्थामा राख्न र सूचना प्रवाहलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन् । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दो सैन्य तनाव तथा आक्रमण–प्रत्याक्रमणका घटनाले आफूलाई चिन्तित तुल्याएको उनले उल्लेख गरेका छन् ।

संयुक्त अरब इमिरेट्स, इजरायल, इरान, कतार, साउदी अरब, कुवेतलगायतका मध्यपूर्वी देशमा विकसित परिस्थितिले त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुरक्षाप्रति थप संवेदनशील बनाएको पूर्वसभामुख घिमिरेको भनाइ छ ।

विशेष परिस्थितिमा ती देशमा रहेका नेपाली नागरिकलाई सजग रहन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न, अनावश्यक रूपमा भीडभाड र जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो राहदानी र आपत्कालीन सम्पर्क विवरण अद्यावधिक राख्न उनले आह्वान गरेका छन् । विश्व शान्ति, क्षेत्रीय स्थिरता र मानव सुरक्षाका पक्षमा नेपाल सधैँ दृढ उभिने पूर्वसभामुख घिमिरेले विश्वास व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख शिशिर खनालले पनि विज्ञप्तिमार्फत नेपाली नागरिकको सुरक्षा सर्वोपरी दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्ने ध्यानाकर्षण गराएका छन् । पूर्वप्रधानमनत्री डा भट्टराईले संवेदनशील घडीमा नेपाल सरकारले जिम्मेवार, दूरदर्शी र प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेको छ । सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले त्यस क्षेत्रका विभिन्न देशमा रहनुभएका नेपाली नागरिकको सुरक्षा हाम्रो प्राथमिक चिन्ताको विषय भएकाले तनावपूर्ण क्षेत्रमा रहनुभएका नेपालीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । रासस