काठमाडौं, फागुन १८ । सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री खुला हुने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सार्वजनिक बिदामा नेपाल आयल निगमका डिपो/शाखा कार्यालय खुला हुने भएका छन् ।
बजारमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज राख्न डिपो तथा कार्यालय खुला हुने भएका हुन् । सरकारले आसन्न चुनावलाई लक्षित गरेर आगामी बुधबार, बिहीबार र शुक्रबार तीन दिन सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा अवधिभर डिपो खुला हुने निगमले जानकारी दिएको छ । निगमले विज्ञप्तिमार्फत कार्यलय खुल्ने दिन र सम्पर्क व्यक्तिसमेत तोकेको छ । निगमका अनुसार विराटनगरको कोशी प्रादेशिक कार्यालय २२ र २४ गते खुला हुने छ । यस्तै मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज १८, २० र २३ गते खुला हुने छ ।
यस्तै इन्धन डिपो महेन्द्रनगर र धनुषा २२ र २४ गते, गण्डकी प्रादेशिक कार्यलय पोखरा २०, २३ र २४ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा १८–२३ गते खुला हुने निगमले जनाएको छ । इन्धन डिपो नेपालगन्ज २०–२२ गते खुला हुने छ । कर्णाली प्रादेशिक कार्यालय सुर्खेत १८–२० गते खुला हुने छ ।
सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढी १८–२० र २२ गते खुला हुने छ । शाखा कार्यालय चारआली २२–२४ गते र शाखा कार्यालय वीरगन्ज २०, २२, २३ र २४ गते खुला हुने निगमले जनाएको छ । यस्तै काठमाडौँको थानकोट डिपोमा सोमबार बिदाको दिनसमेत पेट्रोलियम पदार्थको बिक्री खुला हुने निगमले जनाएको छ ।
यसैबिच चुनाव नजिकिँदै गर्दा बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा आइतबार तेल हाल्नका लागि उपभोक्ताले लामो लाइन बस्नु परेको थियो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चुनावले बजारमा इन्धनको खपत बढेको जानकारी दिए। पेट्रोलियम पदार्थको आयात नियमित भइरहेको र पर्याप्त मात्रामा भण्डारण भएकाले अभाव नहुने उहाँले जानकारी दिए। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले चुनावमा घर जान सबैले तेल भर्न थालेकाले पनि पम्पमा उपभोक्ताको भिडभाड लागेको जानकारी दिए। बजारमा इन्धनको माग बढेको, उपभोक्तामा विश्वास नभएको र सोमबार सार्वजनिक बिदा परेकाले पनि आइतबार पम्पमा तेल भर्नेको भिड लागेको उनको भनाइ छ ।




प्रतिक्रिया