काठमाडौं, फागुन १८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेको जनाएको छ । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो ।
सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपदमा परेर एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । विपद्का कारण ५२ लाख ४५ लाख बराबरको क्षति भएको छ ।
प्राधिकरणका अनुसार, पाँचथर, झापा, मोरङ, सुनसरी र धनकुटामा आगलागी भएका छन् । यस्तै, सप्तरी, धनुषा, पर्सा र कैलालीका दुई स्थानमा आगलागीका घटना हुँदा सर्लाही, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, गोरखा, लम्जुङ, पाल्पा र प्यूठानका एक–एक स्थानमा आगलागी भएका छन् ।
बिजुलीको तार सर्ट भएको तथा दियो बालेर त्यत्तिकै छाडेका कारण आगलागी भएको जनाइएको छ । हिउँदमा सुक्खा बढी हुनाले आगलागीका घटनामा वृद्धि हुने हुँदा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार यही फागुन १६ गते कुल आठवटा विपद्का घटनामध्ये सातवटा आगलागीका मात्रै थिए । फागुन १५ गते प्राधिकरणमा दर्ता भएका कुल १९ वटा घटनामध्ये १७ वटा घटना आगलागीका थिए । यस आधारमा देशभर आगलागीका घटनामा वृद्धि भएको पाइएको छ ।




प्रतिक्रिया