लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपा विजयी, बाँकी पाँच क्षेत्रमा कसले जित्यो?


काठमाडौं, फागुन २५ । लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई तथा नेकपा (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन् । रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका छन् ।

त्यसैगरी पश्चिम नवलपरासी–१ मा पनि रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी–२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्। कपिलवस्तु–१ मा रास्वपाका मोहनलाल आचार्य र कपिलवस्तु–२ मा विक्रमसिंह थापा विजयी भएका छन् भने कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले विजयी भएका छन् ।

दाङ–१ मा रास्वपाकै देवराज पाठक, दाङ–२ मा विपीनकुमार आचार्य र दाङ–३ मा कमल सुवेदी निर्वाचित हुँदा गुल्मी–१ मा रास्वपाकै सागर ढकाल र गुल्मी–२ मा गोविन्द पन्थी विजयी भएका छन् ।

बर्दिया–१ मा रास्वपाकै उम्मेदवार ठाकुरसिंह थारु तथा बर्दिया–२ मा श्रीधर पोखरेल निर्वाचित भएका छन भने रास्वपाकै तर्फबाट बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार विजयी भएका छन् । बाँके–२ मा नेकपा (एमाले) का मोहम्मद इश्तियाक राईले विजय प्राप्त गर्दा रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भएका छन् ।

प्यूठानमा रास्वपाका सुशान्त बैदिक विजयी प्राप्त भएका छन् । अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल, पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना तथा पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएका छन् ।