काठमाडौं, फागुन २५ । नेपाली कम्युनिष्ट पार्टीले धनुषा–१ का आफ्ना उम्मेदवारलाई तत्काल निर्वाचितको प्रमाणपत्र दिन माग गरेको छ।
धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो। नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले आज एक विज्ञप्ति जारी गर्दै धनुषा–१ विजयी भएका मातृकाप्रसाद यादवको मत परिणाम सार्वजनिक भइसकेको, तर त्यसपछि पनि आयोगले उनलाई प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ ।
निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय भएको पार्टीले जनाएको छ।
निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुदा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय भएको पार्टीको ठहर छ।




प्रतिक्रिया