महावीर पुनले एक दिनमै आठ सय किताव बेचे


काठमाडौं, २६ फागुन । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवारीमार्फत प्रतिस्पर्धीसँग दोब्बरको मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा पुुनः आफ्नो आत्मकथा बिक्री गर्न थालेका हुन् ।

“एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौंबाट थप पुस्तक मगाएको छु । राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएको छु ।”

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर जन्मथलो म्याग्दीबाट चुनाव जितेका उनले जेनजी आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गरेका थिए ।

गत भदौको २३ र २४ जेनजी आन्दोलनपछि पूर्वप्रधानान्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बनेका थिए । पुन २२ हजार ८५० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१० मत पाए ।