काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेता भीम रावलको समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन ।
चुनावअघि भव्य एकता घोषणा गर्दै ९ वटै जिल्लामा जनलहर आएको दाबी गरेको यो पार्टीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिटमा जित्न नसकेको हो । तामझामका साथ जनताको मत जित्न होमिएको भनिए पनि नतिजा शून्य आएपछि यो समीकरण असफल देखिएको छ ।
पार्टीको सबैभन्दा ठुलो भरोसा अछाम क्षेत्र नम्बर १ मा थियो । त्यहाँ नेता भीमबहादुर रावल उम्मेदवार थिए । जित्ने आस गरिएका रावल, अछाम क्षेत्र नम्बर २ मा बलबहादुर कुँवर, बझाङ जिल्लामा मीनबहादुर कुँवर र बाजुरामा प्रकाशबहादुर पराजीत भएका छन् ।
त्यस्तै, कैलाली १ मा रामलाल डगौरा थारु, क्षेत्र नम्बर २ मा नन्दबहादुर साउँद, क्षेत्र नम्बर ३ मा वीरमान चौधरी, क्षेत्र नम्बर ४ मा हरिराम चौधरी र कैलाली क्षेत्र नम्बर ५ मा प्रेमबहादुर आले पराजीत भएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा नेतृ विना मगर, क्षेत्र नम्बर २ मा माधवप्रसाद पन्त, क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारले पनि चुनाव जित्न सकेनन् । चुनावी मतपरिणाम अनुसार डोटीमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, डडेलधुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी र बैतडीमा परमानन्द भट्टले एक सिट पनि जित्न नसकेपछि सुदूरपश्चिममा नेकपा निल भएको छ ।




प्रतिक्रिया